प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको विवाद हल गर्न गठन गरिएको वार्ता समितिले सहमति जुटाउन घनिभूत प्रयास गरिरहेको छ ।
१४ औं महाधिवेशको कार्यतालिकामा छलफल गर्न नखोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि सहमति जुटाउन वार्ता समिति गठन गरिएको थियो ।
शनिवार गठन गरिएको वार्ता समितिमा सभापति शेरबहादुर देउवा पक्षले उपसभापति निधिलाई प्रतिनिधि तोकेको छ भने नेता पौडेल पक्षले पार्टीका नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्दप्रसाद्र बडू र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ ।
सोमवार बिहान दुवै पक्ष सम्मिलित वार्ता समितिले सहमतिका लागि प्रयास गरिरहेको छ । नेता सिंह निवास चाक्सीबारीमा अहिले समितिको बैठक बसिरहेको छ ।
‘बिहान पौने १० बजेबाट उहाँहरू वार्तामा बस्नुभएको हो,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘प्याकेजमै सहमति गर्ने कुरा भइरहेको छ । संस्थापन पक्ष केही जिल्लामा समायोजन बाँकी रहेकाले समायोजनपछि महाधिवेशनको कार्यतालिका ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । सम्भवतः उहाँहरूबीच आजै सहमति हुनेछ ।’
सहमति नभएपछि आइतवार बस्ने भनिएको केन्द्रीय समिति बैठक पौडेल पक्षले बहिष्कार गरेको थियो । केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत एजेण्डामा महाधिवेशन कार्यतालिका नपरेपछि पौडेलपक्ष फायर भएको थियो ।
लामो समयसम्म विवाद कायम राख्दा पार्टीलाई हानी हुने भएकाले तत्काल सहमति गर्ने पक्षमा आफू रहेको नेता बडूले बताएका छन् । ‘हामीले प्याकेजमै सहमति गर्ने दिशातर्फ उन्मुख छौं,’ वार्ता समितिका सदस्य रहेका बडूले लोकान्तरसँग भने, ‘सबभन्दा पहिला महाधिवेशन कार्यतालिकाको विषय छ त्यसलाई तत्काल हल गर्न सहमत भएको अवस्था छ । त्यसभन्दा बाहेक विभागका कुराहरू छन्, नेविसंघ, तरुण दल लगायतका कुराहरू छन् । तिनमा पनि मोटामोटी सहमति भएको अवस्था छ ।’
नेता बडूले सोमवारको केन्द्रीय समिति बैठक सहमतिमै बस्न सक्ने या स्थगित हुन सक्ने सम्भावना रहेको बताए ।
विधानले व्यवस्था गरेका २८ वटा विभागलाई बढाएर ४१ पुर्याउने, भातृ संगठन तरुण दलको म्याद ६ महिना थप्ने, नेविसंघलाई नेतृत्व दिने लगायतका एजेण्डा छलफलका लागि केन्द्रीय समितिमा प्रस्तुत गरिएका छन् ।
विवाद साम्य पार्न शनिवार सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेलनिवास बोहोराटारमा पुगेका थिए । पौडेलसँगको छलफलमा देउवाले महाधिवेशन कार्यतालिकाका बारेमा छलफल गर्न आफू तयार रहेको भन्दै आश्वस्त पार्न खोजे । तर आफ्नो असहमति रहँदारहँदै पनि विभागको संख्या बढाएको भन्दै पौडेल सहमतिमा आउन मानेनन् ।
त्यसपछि नयाँ रणनीति तय गर्न पौडेल पक्षका नेताहरू शशांकनिवास महाराजगञ्जमा भेला भए । भेलामा संस्थापन पक्षले आफूलाई पेलेर जान खोजेको भन्दै नयाँ सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय भएको थियो ।
शनिवार बेलुका नै प्रकाशमान सिंहनिवास चाक्सीबारीमा अर्को सहमतिको प्रयास भयो । देउवा पक्षबाट निधि र पौडेल पक्षबाट सिंह लगायत अन्य नेताहरूले छलफल गरेपनि सहमति जुटाउन सकेनन् ।
सहमति जुट्न नसकेपछि आइतवार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्योलमा परेको छ । अन्योल फुकाएर बैठक सूचारु गर्न निधि शशांक निवास महाराजगञ्ज पुगे ।
भेटमा निधिले सहमतिका आधारमा अघि बढ्न आफूहरू तयार रहेको भन्दै शशांकलाई आश्वस्त पार्ने प्रयास गरे । नेविसंघ, तरुण दल, पार्टीका विभिन्न विभाग र महाधिवेशनको कार्यतालिका लगायतका विषयमा सहमति गरेर अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर २६ गते बिहीवारको बैठकमा प्रस्तुत गरिएका एजेण्डाका विषयमा सहमतिपूर्वक अघि बढ्नुपर्छ भन्नेमा उपसभापति निधि र महामन्त्री कोइराला सहमत भएको दाबी गरे तर शर्माको दाबीपछि केन्द्रीय समितिमा पौडेल पक्षको सहभागिता भएन ।
शनिवार सहमति हुन नसकेपछि वरिष्ठ नेता पौडेल आइतवार सपरिवार पाथिभरा दर्शन गर्न गएका थिए । पौडेल पक्षको अनुपस्थितिमा आइतवार केही समय बसेको केन्द्रीय समितिको बैठकमा जम्मा ४ जना नेताहरूले आफ्नो धारणा राखेका थिए ।