नेकपाका प्रभावशाली नेताहरूले २०७७ सालभित्र महाधिवेशन गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावको समर्थन गर्दै महाधिवेशनको कार्ययोजना पेश गर्न सुझाव दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार बसेको स्थायी कमिटी बैठकमा बोल्ने सदस्यहरूले आसन्न केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको प्रस्ताव अनुमोदन गरेर कार्यान्वयनमा जुट्न सुझाव दिएका हुन् ।
‘२०७७ भित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने कुरा सही प्रस्ताव आएको छ । केन्द्रीय समितिबाट अन्तिम रूप दिएर कार्यान्वयन गर्नेमा सबैको एकमत छ,’ प्रवक्ता श्रेष्ठले भने ।
आइतवार राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले २०७७ सालभित्र पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।
सोमवारको बैठकमा वामदेव गौतम, अष्ठलक्ष्मी शाक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देवेन्द्र पौडेल, पम्पा भुसाल र देव गुरुङले धारणा राखेका छन् ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेद र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि मंगलवार पनि छलफल जारी रहने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।