
काठमाडौं, २८ चैत — कश्मीरको श्रीनगरमा आइतवार भएको उपनिर्वानचमा व्यापक हिंसा भड्केपछि आठजना सर्वसाधारण मारिएका छन् । सत्तारूढ पिपुल्स डेमोक्रेटिक पार्टीका उम्मेदवार तसादुक हुसेन मुफ्तीले दक्षिण कश्मीरको अनन्तनागको उपनिर्वाचन स्थगित गर्नुपर्ने माग गरेका छन् ।

जम्मु कश्मीरकी मुख्यमन्त्री मेहबूबा मुफ्तीका भाइ तसादुकले बुधवार हुने उपनिर्वाचनका लागि वातावरण नबनेको भनी निर्वाचन आयोगलाई जानकारी गराएका छन् । चुनाव सर्छ भने आफू उम्मेदवारीबाट हट्ने समेत उनले बताएका छन् ।
विपक्षी नेता ओमर अब्दुल्लाहले तसादुकको अपिलबाट मेहबूबा मुफ्ती सरकारको गम्भीर असफलता झल्किएको टिप्पणी गरे ।
आइतवार श्रीनगर संसदीय सटिका लागि भएको उपनिर्वाचनमा भीडले निर्वाचन केन्द्रमा आक्रमण गरी भोटिङ मशिन ध्वस्त गरेपछि सुरक्षाकर्मीले चलाएको गोलीका कारण आठजनाले ज्यान गुमाउनुपरेको थियो ।
कश्मीर छुट्ट्याउनुपर्ने अभियान चलाइरहेका अलगाववादी समूहले निर्वाचनको बहिष्कार घोषणा गरेयता २०० वटा हिंसाका घटना भएका थिए । जम्मा सात प्रतिशत मतदाताले मत दिएका थिए र यो ३० वर्षयताकै सबभन्दा कम संख्या हो ।
अलगाववादीहरूले आइतवारको हिंसापछि दुई दिने हडतालको घोषणा गरेकाले कश्मीर उपत्यकामा यातायात, विद्यालय तथा व्यापारिक संगठनहरू ठप्प छन् ।
एजेन्सी