काठमाडौं, २९ चैत– नेपाल प्रहरीको नयाँ आइजीपी नियुक्त भएका प्रकाश अर्यालले सोमबार अबेर आइजीको दर्ज्यानी चिन्ह (फुली) लगाएका छन् ।

गृह सचिव लोकदर्शन रेग्मीले अर्याललाई आइजीपीको फुली लगाइदिएका हुन् ।
आइजीपीको फुली लगाएसँगै उनले सोमबारनै पदभार ग्रहण समेत गरेका छन् ।
मन्त्रिपरिषद्को सोमबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको थियो ।
चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्याललाई आइजीमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
अर्याललेले १५४.२ अङ्क प्राप्त गरेका थिए भने प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गरेका थिए ।
यसअघि लोकान्तरको खोजमुलक समाचारमा पनि आइजीपीका चार दाबेदारको यही अंक रहेको उल्लेख थियो |यस्तै लोकान्तरमार्फत सर्वोच्चको फैसला भन्दा फरक अंकसहितको समाचार आएसँगै हंगामा भएको थियो ।