काठमाडौँ, २९ चैत - काठमाडौं महानगरपालिकामा प्रमुख तीन दलबाट मेयरका आकांक्षी नेता–कार्यकर्ता भेटघाटमा व्यस्त देखिन्छन् । अधिकांशले आफू उम्मेदवार बन्ने निश्चित भएको भन्दै भोट हाल्न मतदातासँग अनुरोध गरिरहेका छन् ।

कान्तिपुर लेख्छ - महानगरको मेयरमा कांग्रेसबाट उद्योगमन्त्री नवीन्द्रराज जोशी र स्वास्थ्यमन्त्री गगन थापाको नाम चर्चामा छ । पूर्वस्वास्थ्य राज्यमन्त्री एवं काठमाडौं जिल्ला कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोल, प्रतिमा गौतम, नरोत्तम वैद्य, राजुराज जोशीलगायत पनि महानगरको मेयरका आकांक्षी छन् । ‘मेरो कांग्रेस पार्टीमा लगानी छ,’ मेयर आकांक्षी डंगोलले भने, ‘पार्टीले मूल्यांकन गर्छ, जनताले मलाई जिताउँछन् ।’ उपमेयरमा कल्याणी रिजाल, सृजना सिंह, हरिप्रभा खड्गी, जानु घिमिरे, राधा घले दाबेदार छन् । गौतम नेविसंघकी पूर्वमहामन्त्री तथा गत संविधानसभा निर्वाचनमा काठमाडौं २ बाट एमाले नेता माधवकुमार नेपालसँग पराजित उम्मेदवार हुन् । सिंह कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् ।
एमालेबाट मेयरमा पार्टी सचिव योगेश भट्टराई, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, अनेरास्ववियुका पूर्वमहासचिव वसन्त मानन्धरलगायत चर्चामा छन् । कांग्रेसले राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवार बनाए एमालेले योगेश भट्टराईलगायत चर्चित अनुहारमध्ये मेयरमा उठाउने तयारी गरेको छ ।
सत्तारूढ दल माओवादी केन्द्रबाट उमेश स्थापित, सर्वोत्तम डंगोल र हितमान शाक्यको नाम मेयरको चर्चामा छ भने राप्रपाले पार्टीका सहमहामन्त्री राजाराम श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ । ४ लाखभन्दा बढी मतदाता रहेको महानगरमा आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।