काठमाडौं, २९ चैत– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव केही जिल्लामा दुई चरणमा गर्नका लागि पनि सरकार तयार रहेको बताएका छन् । साथै सरकारले संविधान संशोधनका लागि नयाँ विधेयक तयार पारेको र त्यसले मधेसी मोर्चा सहमतिमा आउने पनि प्रधानमन्त्रीले दावी गरेका छन् ।
मंगलबार व्यवस्थापिका संसदको सुशासन समितिको बेठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय चुनाव कुनै पनि हालतमा नसर्ने पनि दोहोर्याए । ‘बैशाख ३१ गतेका लागि तोकिएको चुनाव कुनै पनि हालतमा सर्दैन्,’ वैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘यदी मधेसी मोर्चा सहभागी हुने अवस्था आएमा कुनै जिल्लामा दुई चरणमा निर्वाचन गर्न सरकार तयार छ ।’
प्रधानमन्त्री प्रचण्डले सकेसम्म सबैको भावना समेट्ने गरी संविधान संशोधनको दोस्रो विधेयक तयार पारेर अघि बढाइएको बताए । तराई मधेसमा स्थानीय तहको संख्या केही बढाउन स्थानीयविकासमन्त्री कमल थापाको नेतृत्वमा समिति बनाएको उनले जानकारी दिए ।
सकेसम्म देशभर एकै चरणमा चुनाव गर्ने सरकारको प्रयास रहने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘ मधेसी मोर्चाले आग्रह गरेअनुसार तराईका केही जिल्लामा एक–दुई हप्तापछि गर्नु पर्ने अवस्था आए सरकार तयार छ ।’
प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री थापा नेतृत्वको कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेपछि दुई चरणको चुनाव अन्तिम टुंगो लाग्ने बताए ।