
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठकमा प्रधानमन्त्रीले अपमान गरेको खुलासा गरेका छन् ।
मंगलवार सिंहदरबारस्थित समाजवादी दलको संसदीय दलको बैठकमा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा आफ्नो अपमान गरेको बताएका हुन् ।
'उहाँले मलाई अपमान गर्नुभयो,' यादवको भनाई उदृत गर्दै समाजवादी पार्टीका एक नेताले लोकान्तरलाई भने ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनका लागि सुझाव समिति बनाउने प्रस्ताव लगेका थिए । उक्त प्रस्ताव बैठकमा पेश हुनबाट रोक्दै प्रधानमन्त्रीले अपमानजनक शब्द प्रयोग गरेको यादवको गुनासो छ ।
मंगलवार नै समाजवादी पार्टीका तर्फबाट सरकारमा सामेल कानूनमन्त्री यादव र शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले राजिनामा दिइसकेका छन् ।
मंगलवार अपराह्न बसेको संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले लोकान्तरलाई बताए ।
'सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा संसदीय दलमा सहमति जुटेको छ,' अरगरियाले भने, 'भोलि पार्टीको पदाधिकारी बैठक बसेर यसबारे आवश्यक निर्णय लिन्छ ।'