
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीको माग जायज भएको बताएका छन्।
भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले विद्यार्थीका माग पूरा गर्न नै सरकारले कदम चालेको बताए।
२०७४ सालदेखि लिइएको बढी शुल्क तत्काल फिर्ता र २०७२ देखिको हकमा आयोगको रिपोर्टका आधारमा निर्णय गरिने उनले बताए। कतिपय कलेजमा शुल्कको समस्या समाधान भएको भन्दै उनले बाँकी रहेका कलेजको समस्या पनि छिट्टै टुंगिने दाबी गरे।
मन्त्री पोखरेलले मुलुकको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको बताए। सामुदायिक विद्यालयलाई सबलीकरण कार्यक्रमको घोषणा भएको उल्लेख गर्दै मन्त्री पोखरेलले नयाँ शिक्षा नीतिले उपक्षेत्रगत नीतिलाई पनि व्यवस्थित गर्ने बताए।