१२ असार २०८३, शुक्रबार

राजपालाई सरकारको 'रातो कार्पेट', राजपा भन्छ– सोच्दै छौं

पुस ९, २०७६
राजपालाई सरकारको 'रातो कार्पेट', राजपा भन्छ– सोच्दै छौं

सरकारले राष्ट्रिय जनता पार्टी राजपालाई सरकारमा सहभागी गराउने संकेत गरेको छ। सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले त्यसको संकेत गरेका हुन् ।

‘राजपाका लागि सरकारमा आउने मूल ढोका खुला छ, स्वागत गर्न रातो कार्पेट हाजिर छ,’ उनले भने, ‘त्यसका लागि छलफल पनि गरिरहेका छौं।’ उनले राष्ट्रिय सभा सदस्य चुनावका लागि भएको सहमतिले सहमतिका अरू सम्भावनाको पनि संकेत गरेको बताए। ‘हामी राजपालाई स्वागत गर्न सधैं तयार छौं, अरू निर्णयमा उसैको सार्वभौमिक अधिकार हुनेछ,’ बाँस्कोटाले भने।

छिट्टै बैठक बस्छौं : राजपा
राजपाले सरकारमा सहभागी हुने या समाजवादी पार्टीसँग मिलेर जाने भन्ने विषयमा अहिले नै टुंगो लागिनसकेको प्रतिक्रिया दिएको छ।

अध्यक्ष मण्डलका सदस्यहरू राजकिशोर यादव र अनिल झाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छिट्टै पार्टीको बैठक बसेर निर्णय गर्ने प्रतिक्रिया दिए। ‘राष्ट्रिय सभा सदस्यमा साझेदारी गर्ने सहमति भएसँगै सरकारमा पनि सहभागी हुने विषयमा छलफल भएको हो?’ भन्ने कान्तिपुरको प्रश्नमा दुवैको जवाफ छ, ‘त्यो सहमति राष्ट्रिय सभाका लागि मात्रै थियो, बाँकी विषयमा छलफल भएको छैन।’

यादवले समाजवादीले आन्तरिक कारणले नै सरकार छाडेको बताउँदै आफूहरूले सुरु गरेको पार्टी एकीकरणको बहससँग यो निर्णयको कुनै सम्बन्ध नरहेको स्पष्ट पारे। सरकारले आफूहरूलाई पहिलेदेखि नै बोलाएको र उपयुक्त नलागेरै सत्तामा नगएको उल्लेख गर्दै उनले भने, ‘त्यो विषयमा सोचिसकेका छैनौं।’ कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्