
पूर्वी एसियाली देशहरूमा धरपकड शुरूभएपछि इन्टरनेटमार्फत ठगी गर्ने चिनियाँ आपराधिक समूह नेपाल छिरेको खुलेको छ । सोमबार काठमाडौंमा पक्राउ परेका एक सय २२ मध्ये धेरैजसो विगतमा फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसियालगायत देशमा बसेर यस्तो किसिमको अपराधमा संलग्न व्यक्तिहरू भएको प्रहरीले जनाएको छ ।
चिनियाँ सरकारको आग्रहमा ती देशहरूले धरपकड गर्न थालेपछि सुरक्षित भूमि ठानेर चिनियाँ नागरिक नेपाल आएका थिए । सोही सूचना पाएपछि चिनियाँ अधिकारीले नेपाली अधिकारीहरूसँग छलफल गरेर पक्राउ गराएका हुन् ।
पक्राउ परेकाहरूले हजारौँ चिनियाँलाई ठगी गरेको प्रहरीले जनाएको छ । विच्याटलगायत माध्यमबाट उनीहरूले संगठित रूपमा ठगी गरेका छन् । विच्याटमार्फत चिनियाँहरूसँग सम्पर्क गर्ने र विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आएका थिए । त्यस्तै, पक्राउ परेकामध्ये कतिपय अनलाइन जुवा खेलाउने धन्दामा थिए । केही चिनियाँ भने डलर र सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
तीन महिना लामो तयारीपछि सोमबार प्रहरीले मनमैजु, बाँसबारी र बूढानीलकण्ठका नौवटा घरमा छापा हानी चिनियाँहरूलाई पक्राउ गरेको थियो । उनीहरूले घर नै भाडामा लिएर गोप्य अनलाइनमार्फत संगठित अपराध गर्दै आएका थिए । ‘उनीहरूले हजारौँ चिनियाँलाई ठगी गरेको चिनियाँ अधिकारीहरूले बताएका छन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘सायद उनीहरूमाथि यससम्बन्धी थप अनुसन्धान हुनेछ ।’
अपरेसनको नेतृत्व गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी निरज शाहीले चिनियाँ नागरिक आपराधिक कामकै लागि घर भाडामा लिएर बसेको बताउँछन् । ‘ठूलो मात्रामा ल्यापटप र मोबाइल बरामद हुनुबाट उनीहरू आपराधिक गतिविधिमा लागेको प्रस्ट हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।
प्रहरीले अनुसन्धान सकेपछि अध्यागमन विभागले उनीहरूमाथि भिसा दुरुपयोगको अभियोगमा थप कारबाही गर्नेछ । कारबाहीपछि उनीहरूलाई निष्कासन गरिने विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । नयाँ पत्रिकामा खबर छ ।