१० साउन २०८३, आइतबार

समाजवादी पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता, दुईतिहाइ बहुमत गुम्यो

समाजवादी पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता, दुईतिहाइ बहुमत गुम्यो
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पार्टी कार्यकारिणी समितिले गरेको जनाएका छन् ।

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने प्रस्तावबारे मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले छलफल गराउन नदिएको भन्दै उपप्रधान, कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मंगलवार राजीनामा दिएका थिए । राजीनामा दिएको भोलिपल्ट बुधवार पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समाजवादीले समर्थन फिर्ता लिएसँगै ओली सरकारले संसदमा पाएको दुईतिहाइ समर्थन गुमेको छ । ओली सरकार अब सामान्य बहुमतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकल सरकार बनेको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुँदा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको २ बुँदे सम्झौता कार्यान्वयन हुने अवस्था नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता गरिएको बताए । उनले अब समाजवादी पार्टी प्रतिपक्षमा बस्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अब बहुमतको सरकारमा सीमित भएको छ, यद्यपि यसले सरकारलाई खासै ठूलो फरक भने पर्ने देखिँदैन । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग स्पष्ट बहुमत छ ।

नेकपासँग १ सय ७४ सांसद् छन् । कांग्रेसका ६३, राजपा र समाजवादीका समान १७ तथा नेमकिपा, राप्रपा, राजमो र एक स्वतन्त्र गरी स्वतन्त्र हैसियतका ४ सांसद छन् ।

नेमकिपा, राप्रपा र राजमो तीनैले राष्ट्रिय दलको मान्यता पाएका छैनन् । यसमध्ये नेकपा, कांग्रेस र राजपाका १र१ सांसद क्रमशः कृष्णबहादुर महरा, आफ्ताब आलम र रेशम चौधरी जेलमा छन् भने समाजवादी पार्टीका हरिनारायण रौनियार निलम्बित अवस्थामा छन् ।

यसअघि प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिँदा ओलीले ३ चौथाइ सांसदको समर्थन पाएका थिए । ओलीको पक्षमा २०८ र विपक्षमा ६० मत परेको थियो । त्यतिबेला ओलीलाई समर्थन गरेको राजपाले यसअघि समर्थन फिर्ता लिइसकेको छ । 

नेकपाकै बागी बनेर चुनाव जितेका छक्कबहादुर लामा र गठबन्धनकै राजमो उम्मेदवार दुर्गा पौडेलको मत जोड्दा पनि सरकारको पक्षमा १७६ मत मात्र पुग्छ ।

दुईतिहाइका लागि १८४ सांसदको समर्थन चाहिन्छ । अहिलेको अवस्थामा दुईतिहाइका लागि कम्तिमा ८ सांसद अपुग भएको देखिएको छ । प्रतिनिधिसभा कुल २७५ सदस्यीय हो ।

salt training

कमेन्ट गर्नुहोस्