
समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक जनशक्ति आवश्यक - प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौंँ विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागी भएका प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सबल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताएका हुन् ।
'राजनीतिक सङ्क्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौँ । सामाजिक न्यायसहितको समानता, विकास र सुशासन हाम्रो सङ्कल्प हो,' प्रधानमन्त्री ओलीले भने, 'समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न तपाईंहरुले सक्षम जनशक्ति तयार गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।'
प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पु¥याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले मद्दत पुग्ने विश्वास व्यक्त गरे । सम्झौतामा शिक्षालाई समुदायमा पु¥याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ ।
गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद,छोरी आमासँग रहने
गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद गरेका छन् ।
बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो ।
जिल्ला अदालतका श्रेस्तेदात आनन्द श्रेष्ठका अनुसार श्रीमती निलम शाह ढकालले मंगलवार सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् ।
उनले दिएको निवेदनका आधारमा जिल्ला अदालतले बुधवार दुवैको सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।
फैसला अनुसार निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी ढकाल निलमसँगै रहनेछिन् ।
२०३१ साल साउन ८ गते जन्मेका ढकाल धेरै संघर्षपछि गायन क्षेत्रमा स्थापित भएका थिए ।
कालापानीबारे संघीय संसद्का दुवै सदनमा दर्ता भयो संकल्प प्रस्ताव
सीमा समस्या समाधानका सम्बन्धमा गरिएको पहललाई तत्काल निष्कर्षमा पुर्याउन माग गर्दै संघीय संसद्का दुवै सदन प्रनितिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै संकल्प प्रस्ताव दर्ता भएको छ ।
तल्लो सदन प्रतिनिधि सभामा प्रमुख सत्तारुढ दलन नेकपा एक्लै र माथिल्लो सदन राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस समेतको समर्थनमा संकल्प प्रस्ताव दर्ता भएको हो ।
प्रतिनिधि सभामा नेकपा सांसद खगराज अधिकारीले दर्ता गराएको प्रस्तावलाई नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गरेकी छन् ।
संकल्प प्रस्तावमा सीमा समस्या समाधानका लागि जारी कूटनीतिक पहललाई निरन्तरता दिँदै उच्चस्तरीय राजनीतिक पहल गर्न माग गरिएको छ ।
पुस १४ मा सभामुख निर्वाचन गराउने सचिवालयको तयारी,११ गतेसम्ममा उपसभामुखको राजीनामा !
पुस १४ गते सभामुखको निर्वाचन गर्नेगरी संघीय संसद् सचिवालयले आन्तरिक तालिका तयार पारेको छ । पुस ११ गते बस्ने प्रतिनिधि सभा बैठकबाट निर्वाचन कार्यतालिका घोषणा गर्नेगरी सचिवालयले तयारी शुरू गरेको हो ।
नेकपा स्थायी समिति बैठक तथा सभामुख निर्वाचनको गृहकार्यका लागि पुस ४ गते शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनअन्तर्गतको बैठक ११ गते सम्मका लागि स्थगित गरिएको थियो ।
संसद् सचिवालय स्रोतका अनुसार राजनीतिक दलहरूबीच सहमति भएमा ११ गतेको बैठकले सभामुख निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्ने गरी कार्यसूची बनाइएको छ ।
सचिवालयले कार्य व्यवस्था परामर्श समितिको बैठकमा लैजान तयार पारेको कार्यसूचीमा पुस १३ गते दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने र पुस १४ गते दिउँसो १ बजे सभामुख निर्वाचन गर्ने उल्लेख छ ।
यद्यपि ११ गतेपछि अर्को बैठक कहिले बस्ने भन्ने निर्णय कार्य व्यवस्था समितिको बैठकबाटै हुनेछ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखको निर्वाचनबारे राजनीतिक दलहरूले छलफल शुरू गरिसकेको बताए । ‘११ गते बस्ने बैठकले तोकेको दिनमा सभामुखको निर्वाचन हुन्छ,’ नेम्वाङले लोकान्तरसँग भने ।
राजीनामा गर्दै उपसभामुख
नयाँ सभामुखकी एक दाबेदार उपसभामुख डा. शिवयामा तुम्बाहाम्फेले पुस ११ गतेको बैठकअगावै राजीनामाको तयारी गरेकी छिन् । नेकपा स्रोतका अनुसार उनले पुस १० या ११ गतेसम्म राजीनामा दिइसक्ने छिन् ।
‘सभामुखको दाबेदार भएकाले पनि आफ्ना लागि हुने निर्वाचनको प्रस्ताव आफैंले बैठकमा राख्न मिल्दैन, ११ गतेको बैठकअगावै राजीनामा दिनुहुन्छ,’ नेकपाका एक सांसदले लोकान्तरसँग भने ।
उपेन्द्र यादवको प्रश्न : ‘राजपा सरकारमा गएर आत्महत्या गर्ला र?’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी बाहिरिएसँगै मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा जानेबारे राजनीतिक चर्चा शुरू भएको छ ।
आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच केही दिनअघि तालमेल गर्ने सम्झौता भएपछि राजपाको सत्तारोहणको चर्चा चलेको हो ।
तर ओली सरकारबाट बाहिरिएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने राजपा सरकारमा गएर आत्महत्या गर्ला भनेर प्रश्न गरेका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले प्रश्न गरे, ‘राजपा सरकारमा गएर आत्महत्या गर्ला र ?’
राजपासँग पार्टी एकीकरणका क्रममा समाजवादीले सरकार छाड्नुपर्ने शर्त राखिँदै आएकाले राजपा सरकारमा जाने सम्भावना नरहेको समेत यादवले बताए । ‘सरकारमा जाने/नजाने उहाँहरूको स्वतन्त्रताको विषय पनि हो,’ उनले भने, ‘तर जानीजानी आत्मघाती कदम उठाएर जानीजानी आत्महत्या त गर्दैनन् होला नि !’
राजपाले नै ‘सरकार छाडौं’ भनेअनुसार आफूले सरकारबाट बाहिरिएर माग पूरा गरिदिएकाले अब राजपासँग पार्टी एकीकरणका लागि कुराकानी अगाडि बढ्ने उनले बताए । ‘सरकार छाड्नुपर्छ भन्ने राजपाको माग थियो, यो माग पनि पूरा भएको छ । अब पार्टी एकीकरण गर्न सजिलो हुन्छ,’ अध्यक्ष यादवले भने ।
उपेन्द्रलाई राजपाको जवाफ :'हामी आत्महत्या गर्दैनौं'
राष्ट्रिय जनता पार्टी (राजपा) तत्कालै सरकारमा जानेबारे पार्टीमा छलफल नभएको जनाइएको छ ।
भर्खरै सरकार छाडेका उपेन्द्र यादवको प्रश्नमा राजपाले सरकारमा गएर आत्महत्या नगर्ने टिप्पणी गरेको छ ।
बुधवार संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उपेन्द्रले सरकारमा गएर राजपाले आत्महत्या नगर्ने टिप्पणी गरेका थिए ।
राजपा अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले आफूहरूले सरकारमा गएर आत्महत्या नगर्ने प्रतिक्रिया जनाएका छन् ।
‘राष्ट्रियसभा चुनावका लागि प्राविधिक सहमति मात्र गरिएको हो, सरकारमा जानेबारे कुनै सल्लाह भएको छैन,’ संसदीय दलको कार्यालय सिंहदरबारमा भेटिएका यादवले लोकान्तरसँग भने ।
पक्राउ परेका चिनियाँ नागरिकबाट ७४७ मोबाइल र ३३१ ल्यापटप जफत
पक्राउ परेका चिनियाँ नागरिकबाट प्रहरीले ठूलो संख्यामा मोबाइल र ल्यापटप बरामद गरेको छ ।
प्रहरीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ७ सय ४७ मोबाइल र ३३१ ल्यापटप बरामद भएको जनाएको हो ।
९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ डाइभ र ३२७ सीमकार्ड बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चिनियाँ नागरिकबाट ६७ राहदानी पनि बराबद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरू प्रहरी हिरासतमै छन् ।
हिजो दुईतिहाइको दम्भ थियो,अब समाप्त भयो : उपेन्द्र यादव
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट राजीनामा दिएका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अब कम्युनिस्ट सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व मन्त्री यादवले हिजो सरकारमा दुईतिहाइको दम्भ भएपनि अब समाप्त भएको बताए ।
प्रधानमन्त्री ओलीसँग स्पष्ट बहुमत हुँदाहुँदै समाजवादी पार्टीले समर्थन फिर्ता लिनुको के अर्थ हुन्छ भनेर सोधिएको प्रश्नमा यादवले सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताए ।
पत्रकार सम्मेलनमा यादवले ओली सरकारले जनताको माग अनुसार संविधान संशोधन गर्ने अवस्था नदेखिएको बताए । उनले समाजवादी पार्टीले प्रतिपक्षमा रहेर पनि संविधान संशोधनका लागि पहल गर्ने बताएका छन् ।
समाजवादी पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता,दुईतिहाइ बहुमत गुम्यो
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पार्टी कार्यकारिणी समितिले गरेको जनाएका छन् ।
संविधान संशोधन प्रक्रिया अगाडि बढाउने प्रस्तावबारे मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले छलफल गराउन नदिएको भन्दै उपप्रधान, कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मंगलवार राजीनामा दिएका थिए । राजीनामा दिएको भोलिपल्ट बुधवार पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
समाजवादीले समर्थन फिर्ता लिएसँगै ओली सरकारले संसदमा पाएको दुईतिहाइ समर्थन गुमेको छ । ओली सरकार अब सामान्य बहुमतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकल सरकार बनेको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुँदा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको २ बुँदे सम्झौता कार्यान्वयन हुने अवस्था नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता गरिएको बताए । उनले अब समाजवादी पार्टी प्रतिपक्षमा बस्ने बताए ।
सूर्य ग्रहणका कारण सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १० गते बिहीवार गते बस्ने भनिएको केन्द्रीय समिति बैठक ११ गते शुक्रवार सारेको छ ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले सहमतिका लागि एकदिन थप गरिएको रूपमा बुझ्न आग्रह गरे ।
'सहमतिका लागि समय थप गरिएको छ,' उनले भने, '१० गते सूर्यग्रहण पनि छ । त्यसैले सहमतिमै बैठक ११ गते बस्ने भनिएको हो ।'
१४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ र तरुणदलको नेतृत्वका बारेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद चर्किएपछि केन्द्रीय समितिको बैठक बस्न सकिरहेको छैन ।
मंसिर २६ गतेदेखि बोलाइएको केन्द्रीय समितिको बैठकलाई वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूले निरन्तर बहिष्कार गर्दै आइरहेका छन् ।
पौडेल पक्षको बहिष्कारका बावजुद २६ र २७ गते २ पटक केन्द्रीय समिति बैठक बसेको थियो । त्यसपछि मंसिर ३० र पुस २ गते बोलाइएका बैठक स्थगित भएका थिए ।
त्यसयता सहमतिको प्रयासका दुवै पक्षका नेताहरू सम्मिलित लागि ४ सदस्यीय वार्ता समिति गठन गरियो ।
समितिमा सभापति देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता पौडेल पक्षबाट प्रकाशमान सिंह र दुई केन्द्रीय सदस्य दिलेन्द्र बडू र हृदयराम थानी रहेका छन् ।
उपसभापति निधिले केन्द्रीय समिति बैठकअघि नै मुख्य विषयमा द्विपक्षीय सहमति हुने दाबी गरेका छन् ।
'सहमतिका लागि दुवै पक्ष लचिलो देखिएको छ,' निधिको भनाइ उदृत गर्दै स्रोतले भन्यो, '११ गते केन्द्रीय समितिको बैठकअघि सबै विवादहरू समाधान हुने दिशातर्फ उन्मुख छन् ।'
वरिष्ठ नेता पौडेलले तरुण दल या नेविसंघमध्ये कुनै एकको सभापति माग गरेका छन् ।
नेविसंघको पुरानै संरचना ब्युँताउने भए ७ जना महामन्त्री राख्नुपर्ने र ३ आफूलाई चाहिने पौडेलपक्षले माग राखेको छ भने ४० प्रतिशत विभागको नेतृत्वको दाबी पनि पौडेल पक्षले गर्दै आइरहेको छ ।
देउवापक्ष भने महाधिवेशन कार्यतालिकाको बारेमा छलफल गर्न तयार देखिएको छ ।
'उहाँहरू महाधिवेशन कार्यतालिकाको बारेमा छलफल गर्न तयार छौं, भन्नुहुन्छ तर अन्य विवादमा प्रवेश नै गर्न चाहनुहुन्न । यसरी कसरी सहमति हुन्छ ?' पौडेलपक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग गुनासो गरे ।
तेह्रौँ सागमा रजत र कास्य जितेका खेलाडीका लागि पुरस्कार घोषणा गर्न माग
राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले उक्त माग गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गर्नुभएको थियो । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य जितेकालाई रु तीन लाख दिने घोषणा गरिएको थियो ।
सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई रु पाँच लाख दिने घोषणा गरे पनि रजत र कास्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा गरेको छैन । तेह्रौँ साग सकिएको दुई सातासम्म पनि सोबारे सरकारले निर्णय गरेको छैन ।
'टिम इभेन्ट्सका पदक विजेताका लागि पुरस्कार तत्काल घोषणा गरी खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्छौं', सङ्घका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली खेलकूदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको स्मरण गराउँदै उनले यसपटक घोषित रकम तत्काल उपलब्ध गराउन अनुरोध गरेका छन्। नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कूल २०६ पदक जितेको थियो ।