
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छाया पृथ्वीमा पर्न गएमा छाया परेको स्थानमा सूर्यग्रहण लाग्ने वैज्ञानिकको भनाइ छ।
सूर्यग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन्छ। बिहीबार लाग्ने सूर्यग्रहण बलयाकार हो। ‘पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ’, विज्ञान संग्राहलयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले भने।
वैज्ञानिकहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाश छेक्दा पृथ्वीमा छाया पर्छ। ‘सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ’, डा. शर्मा भन्छन्, ‘सूर्यग्रहण केवल चन्द्रमाको ‘यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्यग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।’
शर्माका अनुसार सूर्यग्रहणमा चन्द्रमा पृथ्वीबाट सबभन्दा टाढा पुगेको केही दिनपछि मात्र चन्द्रमाले सूर्यलाई छेक्ने हुदाँ पृथ्वीबाट अवलोकन गर्दा यसले सूर्यबाट आएका प्रकाशलाई पूर्णरूपमा नछेक्ने हुदाँ सूर्य केवल रिङ आकारको गोलाकार रुपमा अवलोकन हुनेछ। काठमाडौंबाट भने यो केवल खण्डग्रासको रुपमा अवलोकन गर्न सकिनेछ।
‘सूर्य पृथ्वीबाट लगभग १५ करोड किलोमिटर टाढा छ। यसको ब्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ र चन्द्रमाको ब्यास पृथ्वीको एक चौथाइ मात्र छ। तौल तीन लाख ३३ हजार गुणा बढी छ। यसको बाहिरी सतहको तापक्रम लगभग ६००० डिग्री सेन्टिग्रेड र केन्द्रको तापक्रम १५०००,००० डिग्री सेन्टिग्रेड रहेको छ’, डा. शर्माले भने, ‘सूर्य पृथ्वीको सबभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो। सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू आफ्नो कक्षमा परिभ्रमण गर्नका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छन्। पृथ्वी आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर परिभ्रमण गर्नुका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।