२२ असार २०८३, सोमबार

कहाँ छन् २० वर्ष पहिला जहाज अपहरणमा फिरौतीका रूपमा मुक्त भएका ३ आतंककारी ?

कहाँ छन् २० वर्ष पहिला जहाज अपहरणमा फिरौतीका रूपमा मुक्त भएका ३ आतंककारी ?

२० वर्षअघि ९ पुस ०५६मा आइसी ८१४ कलसाइन भएको भारतीय विमान तालिबानी आतंकवादीहरूले अपहरण गरेर अफगानिस्तानको कान्दाहार पुर्याएका थिए ।

दिउँसो २ बजे भारतको राजधानी नयाँ दिल्ली उड्नुपर्ने जहाज मौसमको खराबीका कारण २ घण्टा ढिलो भएको थियो । जहाज नेपालको आकाश पार गर्नेबित्तिकै अपहरणमा परेको थियो । उक्त जहाज अपहरणको घटनाले तत्कालै विश्वभरका मानिसहरूलाई स्तब्ध तुल्याएको थियो भने नेपालको हवाई सुरक्षामा ठूलो प्रश्नचिह्न उठेको थियो ।

भारतीय सञ्चारमाध्यमहरूले जहाज अपहरण गर्ने ३ आतंककारीहरू अहिले पनि भारतका विभिन्न ठाउँहरूमा बमविष्फोट गराउने घटनामा संलग्न रहेको बताउने गरेका छन् ।

काठमाडौँबाट उडेको जहाज अपहरणमा परेपछि जहाजलाई भारतको अमृतसर लगियो । त्यसपछि जहाजलाई पाकिस्तान हुँदै दुबई र दुबईबाट अफगानिस्तानको कान्दाहार लगिएको थियो ।

१ सय ७० यात्रु बोकेको उक्त जहाजलाई कान्दाहारमा पुर्याएपछि अपहरणकारीहरूले भारतीय जेलमा रहेका आतंकवादी मसुद अजहर, उमर शेख र मुश्ताक अहमद जरगरको रिहाई हुनुपर्ने शर्त तेर्स्याएका थिए । अपहरणमा बन्धन बनेका १ सय ७० यात्रुलाई मुक्त गर्न भारतलाई एक साता लागेको थियो ।

जहाज अपहरण भएको एक सातापछि भारतले ३ जना आतंककारीलाई जेलबाट छोडिदियो ।  

यस मामिलामा भारतको सीबीआईले १२ जनालाई आरोपित बनाएको थियो । जसमा ५ जना अपहरणकारीसहित ७ जनालाई पाकिस्तानमा बसेर निर्देशन गरेको ठानिएको थियो ।

जहाज अपहरणको बदलामा छुटेका तीन आतंककारीहरू अहिले के गर्दै छन् त ? भारतीय सञ्चार माध्यम द प्रिन्टले उनीहरूको बारेमा खोज स्टोरी प्रकाशित गरेको छ ।

मशुद अजहर

जेलबाट रिहाइ भएपछि अजहरले आतंककारी समूह जैश-ए-मोहम्मदलाई एकजुट गराए र भारतमाथि हमला गर्न शुरू गरे । सन् २००१ मा भारतको संसद भवनमा भएको आक्रमण, सन् २००८ मा मुम्बईमा भएको हमला र सन् २०१६ मा पठानकोटमा भएको हमलामा अजहरको संलग्नता भएको भारतीय अधिकारीहरूले पुष्टि गरिसकेका छन् ।

सन् २०१९ को फेब्रुअरीमा पुलावामा भएको हमलामा पनि अजहरकै संलग्नता रहेको भारतीय सञ्चारमाध्यमहरूले बताउँदै आएका छन् । जसमा ४० जना सिपाही मारिएका थिए ।

अजहरलाई सन् १९९४ मा कश्मीरबाट गिरफ्तार गरिएको थियो । भारतले अजहरलाई पाकिस्तानी खुफिया एजेन्सी आइएसआईको समर्थन प्राप्त भएको दाबी गरेको थियो । भारतीय जेलमा रहेका अजहरलाई छुटाउन पाकिस्तानले त्यतिबेला पनि भारतलाई विभिन्न दबाब दिने गरेको तथ्य अगाडि आएको थियो ।

अजहरलाई अहिले संयुक्त राष्ट्रसंघले पनि आतंककारी घोषणा गरेको छ । अहिले अजहर मिर्गौलाको रोगबाट पीडित रहेको र पाकिस्तानको एक सैन्य अस्पतालमा गोप्य रूपमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

उमर शेख

१ सय ७० यात्रुको बदलामा रिहा भएका उमर शेखले सन् २००२मा वाल स्ट्रीट जर्नलका संवाददाता पर्ल डेनियलको हत्या गरेका थिए । डेनियलले अलकायदाको आर्थिक स्थितिका बारेमा रिपोर्ट गर्ने गर्थे ।

इस्लामिक धर्मगुरूसँग अन्तर्वार्ता दिलाइदिने भन्दै शेखले डेनियललाई फँसाएका थिए । त्यसपछि डेनियल अपहरणमा परे । पर्लमाथि अमेरिकी जासुस भएको आरोप लगाउँदै शेखले उनको हत्या गरेका थिए । हत्या गर्नुभन्दा पहिला शेखले अमेरिकासँग एफ-१६ फाइटर जेट फिरौतीका रूपमा मागे । अमेरिकाले त्यो अस्वीकार गरेपछि पर्लको हत्या गरियो ।

शेख बेलायतमा जन्मेका थिए र लन्डन स्कूल अफ इकोनोमिक्सका विद्यार्थी थिए । त्यसपछि उनी कट्टरपन्थी इस्लामिक समूहसँग सम्पर्कमा आए । भारतबाट ४ जना विदेशी पर्यटकलाई अपहरण गरेपछि शेख सन् १९९४ मा गिरफ्तारीमा परेका थिए ।

रिहा भएपछि शेखलाई २००२ को फेब्रुअरीमा पाकिस्तानको लाहोरमा गिरफ्तार गरियो । उनलाई अमेरिकाको दबाबमा पाकिस्तानले गिरफ्तार गरेको थियो । मृत्युदण्डको सजाय सुनाइएका उनी अहिले पाकिस्तानको जेलमा मर्ने दिन कुरिरहेका छन् ।

मुश्ताक अहमद जरगर

जहाज अपहरणपश्चात भारतले रिहा गरेको अर्को आतंककारी मुश्ताक अहमद जरगर जम्मु कश्मीर लिबरेशन फ्रन्टमा आबद्ध थिए । उनलाई सन् १९९२ मा गिरफ्तार गरिएको थियो ।

रिहा भएपछि जरगरले मुजफ्फराबादमा अल-उमर-मुजाहिद्दीनलाई संगठित गरेर गतिविधि गर्न शुरू गरेका थिए । जरगरले युवाहरूलाई आफ्नो सेनामा भर्ती गरेर प्रशिक्षित पनि गर्न शुरू गरे ।

त्यसयता गुमनाम रहेका जरगरमाथि सन् २०१९ मा कश्मीरको अनन्तनागमा भएको हमलामा जिम्मेवार मानिएको छ । जहाँ भारतीय सेनामा ५ जवान मारिएका थिए ।  

पेशाले तामाको काम गर्ने जरगर श्रीनगरमा हुर्केबढेका थिए । सन् १९८८ मा हतियार चलाउने प्रशिक्षण लिनका लागि पाकिस्तान पुगेका थिए । फर्केर आएपछि कश्मीरलाई पाकिस्तानमा बिलय गराउने अभियानमा संलग्न बन्दा बन्दै सन् १९९२ मा उनलाई भारतीय सेनाले पक्रेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्