
राजधानी काठमाडौं महानगरलाई बेसहारा सडकमानव मुक्त बनाउने अभियानको थालनीसँगै बालाजु बाइपासस्थित आश्रमको ‘स्क्रिनिङ सेन्टर’ मा सडकमानवको चाप बढ्दो छ । तर सेन्टरभित्रको रौनक आफ्नै खालको छ । कोही चेस खेल्दै त कोही क्यारमबोर्डमा दाउ लगाउँदै थिए । बूढाबूढी, अशक्त, महिला र बालबालिका भने घामको पार ताप्दै भेटिए ।
बिरामी र मनोरोगी व्यक्तिहरू भने आफ्नै तालमा एक्लै गफिँदै घरी घाम र घरी शीतलतिर सर्दै थिए । कतिपय उद्धारकर्मी सडकबाट ल्याएकालाई नुहाइधुवाइसँगै सफा कपडा लगाएर घाममा राख्दै थिए ।
महानगरका कर्मचारी, मानव सेवा आश्रमका सेवक तथा प्रहरीको एक समूह भने सडकमानवको लिखत उतार्ने, फोटो खिच्ने, उद्धार गरेकाको सरसफाइ गर्ने, खानपानको व्यवस्थापन गर्दै थिए । 'परिवारको पुनर्मिलनमा जाने, परामर्श दिनुपर्ने र सेवामा राख्नुपर्नेको सूची तयार पार्ने प्रयास भइरहेको छ,' आश्रमका प्रदेश ३ संयोजक सुमन बर्तौलाले भने, 'सबैथरि मानिस एकै ठाउँमा राखेर छाट्नु पर्दा कठिनाइ बढेको छ ।'
मंसिर २९ गतेबाट बेसहारा सडकमानवको उद्धार थालिएको हो । हालसम्म ३५० को सडकबाट उद्धार भइसकेको आश्रमले जानकारी दिएको छ ।
पुनर्मिलनमा जानेको कथा अनेक
उमेरले ६० वर्ष नाघेका विनोद पौडेलको सधैँ श्रीमतीसँग कचकच परिरहने गर्थ्यो । 'छोराछोरी साना हुँदासम्म उनीहरूको चित्त बुझाउँदै उमेर गयो अब ठूलो भएपछि उनीहरूकै कुराले चित्त दुख्ने रहेछ,' पौडेल सुनाउँछन्, 'त्यहीमाथि जीवनसङ्गिनीले पनि गाली गर्ने झर्कने गरिरहँदा घर बस्न मन लागेन ।' त्यसैले परिवार छाडेका उनी आफैं सडक हुँदै मानव सेवा आश्रमको शरणमा पुगे ।
पारिलो घाममा बाथले सताएका खुट्टा खोच्याउँदै उनी दौँतरीसँग गफिँदै थिए । दिउँसो अचानक छोरी र छोरा उनलाई लिन आइपुगे । हँसिलो उनको मुहार अँध्यारो भयो । 'राम्रो गरे भने घर बस्छु नत्र फेरि आश्रम नै आउँछु,' पौडेलले आँखा रसाउँदै बोले । 'आमाको बानी त्यस्तै हो त तपाईंलाई थाहै छ त त्यत्तिकै घर छाडेर हिँड्ने हो र,' छोरा जङ्गिए ।
आश्रमका सेवक र प्रहरीले बुबासँग प्रेमले कुरा गर्न भन्दै सम्झाएपछि छोरा शान्त भए । अबदेखि बुबालाई दूर्व्यवहार नगर्ने शर्तमा पौडेलको घरपरिवारसँग पुनर्मिलन भयो । ज्याला मजदुरी गरेर सडकमै जीवन बिताउँदै आएका मदन रोकालाई लामो समयपछि आफ्नी आमा जुना रोकासँग सम्पर्क गराइयो । नुवाकोटको ककनी घर भएका उनकी आमाले छोरालाई घर पठाइदिन भनिन् । 'अब सडकमा बस्दिनँ, घर जान्छु, काम गर्न आउनुपरेछ भने पनि सल्लाह गरेर कोठा खोजेर बस्छु,' रोकाले बस चढ्ने बेला भने ।
उनीहरू जस्तै सडकबाट आश्रम पुगेका छ जनाको बिहीवार पारिवारिक मिलन भयो । हालसम्म भने १४८ जनालाई सडकमा नबस्ने शर्तमा परिवार र सहयोगीको जिम्मा लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।