रूसले आवाजको गतिभन्दा २७ गुणा छिटो निशानामा पुग्न सक्ने अभनगार्ड हाइपरसोनिक मिसाइललाई सेनामा सामेल गरेको छ ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त मिसाइल अब रुसी सेनासँग रहने घोषणा गरे ।
यो मिसाल आवाजको गतिभन्दा बढीमा २७ गुणा र औसतमा पनि २० गुणा छिटो छ । अत्यन्तै तीव्र गतिका कारण कुनैपनि एन्टी–मिसाइल सिस्टमले यसबाट बचाउन निकै मुस्किल गर्ने पुटिनको दाबी छ ।
रुसी रक्षामन्त्री सर्गेई सोइगुका अनुसार २७ डिसेम्बरको दिन स्थानीय समयअनुसार १० बजे उक्त मिसाइल सेनामा सामेल गरिएको हो ।
उक्त मिसाइल तैनाथी गरिएको स्थान गोप्य राखिएको छ । यसलाई यूरलको पहाडी इलाकामा राखिएको हुनसक्ने आशंका अन्तर्राष्ट्रिय मिडियाहरूले गरेका छन् ।
६ हजार किलोमिटरसम्म मार हान्ने क्षमता
पुटिनले भनेका छन्– अभनगार्ड मिसाइल हरेक मिसाइल डिफेन्स सिस्टमलाई पार गर्न सक्छ ।
उनले डिसेम्बर २०१८ मा यसको परीक्षण समेत हेरेका थिए । अभनगार्डले यूरलको पहाडी क्षेत्रमा ६ हजार किलोमिटर परको एक प्राक्टिस टार्गेटलाई सफलतापूर्वक निसाना बनाएको थियो ।
प्रतिघण्टा न्यूनतम ६ हजार १७४ किलोमिटरको गतिमा अघि बढ्ने यो मिसाइल क्रुज र ब्यालेस्टिक दुवै फिचर्सबाट सुसज्जित छ ।
लन्च गरेपछि यो मिसाइल पृथ्वीको कक्षबाट बाहिर जान्छ र फर्किएर हावा वा जमिनमा रहेको टार्गेटलाई निसाना बनाउँछ ।
तेज गतिका कारण एन्टी मिसाइल सिस्टमको रडारले पनि यसलाई पत्ता लगाउन मुस्किल पर्ने बताइएको छ ।