
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन्।
प्रेस सङ्गठनद्वारा शनिबार काठमाडौँमा आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताए।
ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको बताए।
‘६ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ,’ उनले भने, ‘मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर र जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ नी ।’
एकथरी कागजको डुङ्गा बनाएर चलाइरहँदा अर्कोथरीले जहाज चलाएर देखाएको भन्दै उनले निजी क्षेत्रका युवाले आफैँ प्रेरित भएर नारायणीमा जहाजको परीक्षण गरिसकेकामा खुशी व्यक्त गरे। ओलीले भने, ‘अब हामीकहाँ गङ्गाबाटै सामान आइपुग्छ, देख्न सक्नेले देख्छ, देख्न नसक्नेका लागि मजाक हुन्छ, आएपछि उनीहरु आश्चर्य चकित हुन्छन्।’
मुलुकको प्रगति रफ्तारमा गइरहेको जिकिर गर्दै उनले छिट्टै फलाम खानीको काम अगाडि बढाउँदै तेलखानीको अध्ययन गर्न लागेको जानकारी दिए। मुलुक सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगिसकेको र कृषिको आधुनिकीकरणमा सरकारले ध्यान दिएको उनले बताए। प्रधानमन्त्री ओलीले ठूला महत्वपूर्ण काम भइसक्दा पनि मुलुकमा विरोध गर्ने एउटा लहर नै चलेको भन्दै त्यसलाई रोकेर स्थायीत्वका पक्षमा दृढताका साथ लाग्नुपर्नेमा जोड दिए।