
काभ्रे, २९ चैत –रोटरी क्लब नेपालले बनाइदिएको मण्डन देउपुर–९ स्थित रायोबारीको ६९ वटा नमुना घर हस्तान्तरण गरिएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर गोविन्दराज पोख्रेलको प्रमुख आतिथ्यतामा आज यहाँ आयोजित कार्यक्रममा सो नमुना घर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा डा पोखरेलले अनुदानमा केही वास्तविक भूकम्पपीडित पनि छुटेका तर नेपालमा पुनर्निर्माण हुन समय लाग्ने भएकाले पीडितलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो ।
सरकारको काम सहजीकरण गर्नु मात्र रहेकाले पीडितको सक्रियतामा मात्र पुनर्निर्माण भइसक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा उहाँले विविध कारणले गर्दा पुनर्निर्माणमा ढिलाइ भएको भन्दै सहज र सुलभ किसिमबाट प्राधिकरणले काम अघि सार्ने जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति तथा रोटरी क्लबका प्रमुख तीर्थमान शाक्यले मानवीय सेवा क्लबको प्रमुख कार्य भएकाले सरकारको समन्वयमा क्लबले अन्य थुपै्र काम गर्ने र उक्त रायोबारी गाउँलाई एक नमुना गाउँका रुपमा विस्तार गरी स्थानीयवासीको जीविकोपार्जनको बाटोसमेत खोलिदिने बताउनुभयो ।
उहाँले उक्त गाउँको जीविकोपार्जनका निम्ति आँपलगायत अन्य फलफूलका बिरुवासमेत स्थानीयवासीलाई वितरण गरिसकिएको जानकारी दिनुभयो ।
कार्यक्रममा त्यहाँका स्थानीय तथा रोटरी क्लब रायोबारीका अध्यक्ष गणेश नेपालले पुनर्निर्माणकै विषयमा पुनर्निर्माण प्राधिकरणसँग जिज्ञासा प्रस्तुत गर्नुभएको थियो । उक्त नमुना घर रोटरी क्लब बनेपा र धुलिखेलको सक्रियतामा बनाइएको थियो ।
सन्दर्भ तस्विर