०७ असार २०८३, आइतबार

‘सीडीओलाई प्रदेश मातहत नराखे छुट्टै नियुक्ति’

पुस १३, २०७६
‘सीडीओलाई प्रदेश मातहत नराखे छुट्टै नियुक्ति’

सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई प्रदेश सरकार मातहत राख्न माग गरेका छन् । अपराध नियन्त्रण र शान्तिसुरक्षाका कामलाई कानुनी दायरामा ल्याउन गरिने अनुसन्धानका लागि प्रजिअ प्रदेश मातहत राख्नुपर्ने उनीहरूले तर्क गरेका छन् । 

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा शनिबार आयोजना गरेको कानुन र सुरक्षासम्बन्धी अन्तरप्रदेश अनुभव आदानप्रदान तथा छलफलमा सहभागी मन्त्रीहरूले आफूहरूको माग पूरा हुने गरी संघीय प्रहरी ऐन नआए प्रदेशहरूले छुट्टै प्रजिअ नियुक्त गर्ने बाध्य हुने बताए । ‘शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणका काममा प्रमुख जिल्ला अधिकारीहरू प्रदेश सरकारप्रति जवाफदेही हुनुपर्छ,’ प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने, ‘प्रदेश सरकार मातहत बसेर दायित्व निर्वाह नगरे हामी छुट्टै प्रमुख जिल्ला अधिकारी राख्न बाध्य हुन्छौं ।’

मन्त्री यादवले सीमा सुरक्षा, परराष्ट्र सेवा र नागरिकतालगायत कामका लागि प्रजिअ संघीय सरकारप्रति जवाफदेही हुनुपर्नेमा भने आफूहरूको विमति नरहेको बताए । संघीय सरकारले प्रहरी ऐन ल्याउन ढिलाइ गर्दा प्रदेश २ मा संवैधानिक अधिकार प्रयोग गरी ल्याइएको प्रहरी ऐन कार्यान्वयन हुन नसकेको उनले गुनासो गरे । प्रहरी ऐनको अभावमा शान्तिसुरक्षा कायम गर्ने संवैधानिक अधिकार प्रदेश सरकारले प्रयोग गर्न नसकेको उनको भनाइ थियो । शान्तिसुरक्षाको विषयमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेर काम गर्नुपरिरहेको उनले सुनाए ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले संघीयतालाई सफल पार्न सहकार्य र समन्वयका लागि प्रदेशका गृहमन्त्रीस्तरको बैठक भएको बताए । ‘संघीयताको मर्मअनुसार सहकार्यका लागि हामी सातै प्रदेशका मन्त्रीहरूले साझा समस्याबारे छलफल गर्‍यौं,’ उनले भने, ‘शान्तिसुरक्षा कायम गर्न र कानुन निर्माणमा एकरूपता ल्याउने सवालमा अन्तरप्रदेश अनुभव आदानप्रदान आवश्यक भएको हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्