
कीर्तिपुर नगरपालिका–६ स्थित चोभारको मञ्जुश्री पार्क काठमाडौँ उपत्यकामा मानव बस्ती बस्दाको ऐतिहासिक कथनसँग सम्बन्धित सामग्रीले सजाउने क्रम जारी छ । काठमाडौँ उपत्यका पानीले भरिएको विशाल तालका रूपमा छँदा तिब्बतबाट मञ्जुश्री आई चोभारको डाँडो काटेर पानी बाहिर पठाएपछि यहाँ बस्ती बस्न सम्भव भएको कथनले चोभारको गल्छी प्रख्यात छ ।
पार्कको व्यवस्थापन गर्दै आएको जलविनायक वन उपभोक्ता समूहका अध्यक्ष दीपेन्द्र महर्जनका अनुसार वि.सं. २०६२ देखि सञ्चालनमा ल्याइएको पार्कमा पछिल्लोपटक करिब चार करोड रुपियाँको लागतमा मञ्जुश्रीको मूर्ति थप गरिएको छ । उपत्यकाबाट नजिक शान्त, शीतल प्राकृतिक पर्यावरणको सौन्दर्यले भरिपूर्ण सो स्थानलाई स्थानीय बासिन्दाले पार्कको रूपमा विकास गरेको १३ वर्षपछि थपिएको ३३ फिट अग्लो मञ्जुश्रीको मूर्तिले विशेष आकर्षण थपिएको छ । सो मूर्ति कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा बनेको हो ।
सो पार्क सञ्चालन तथा व्यवस्थापन गर्दै आएको वन उपभोक्ता समूहका अध्यक्ष महर्जनका अनुसार त्यो स्थान पहिला ज्यादै एकान्त, डरलाग्दो झाडी, बुट्यानले घेरिएको थियो । काठमाडौँ उपत्यकाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक यस कथनलाई जीवन्त राख्न चोभारलाई तिनै कथनसँग सम्बन्धित पाटोबाट विकास गरौँ भन्ने लक्ष्यसहित केही व्यक्तिको पहलमा शुरू भएको हो भने। अध्यक्ष महर्जनले थपे, 'पार्कलाई समृद्ध बनाउन भौतिक संरचनाको विकासलगायत सम्बन्धित सम्पदा, आवश्यक पूर्वाधार निर्माणको क्रम जारी छ ।'
मञ्जुश्रीको ३३ फिट अग्लो मूर्ति
कलाकार चन्द्रश्याम डङ्गोलको समूहले करिब सात वर्ष लगाएर मञ्जुश्रीको मूर्ति निर्माण गरेको हो । कलाकार डङ्गोलले १३ टुक्रा ढुङ्गा जोडेर ३३ फिट अग्लो मूर्ति निर्माण गर्नुभएको छ । समूहका अध्यक्ष दीपेन्द्र महर्जन भन्छन्, 'सो पार्कको वास्तविक नाम राखिएको ऐतिहासिक र पौराणिक पात्र मञ्जुश्रीको मूर्ति त्यहीँ स्थापना गर्ने अवधारणाका परिकल्पनाकार पुरातत्व एवं इतिहासविद् स्वर्गीय शुक्रसागर श्रेष्ठको हो ।'
महर्जन थप्छन्, 'नेपालमा ३३ कोटी देवताको उल्लेख धार्मिक ग्रन्थमा गरिएको हुन्छ, मञ्जुश्रीको मूर्ति त्यही र त्यस्तै मिथकसँग जोडिने गरी निर्माण गरौँ भन्ने उनको सदिच्छाका कारण ३३ फिटको बनाइएको हो । बौद्धधर्ममा १३ भुवनको चर्चा अत्यधिक गरिएको छ । मञ्जुश्रीको मूर्ति बनाउँदै जाँदा मूर्ति १३ टुक्रा जोडिने गरी बन्नुमा चाहिँ विशेष संयोग नै मिल्न गएको कलाकार डङ्गोलको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।