
झापाधान खेतीका लागि उर्वर भूमि हो । त्यसैले झापामा सरकारले धानको उत्पादन वृद्धिका लागि आर्थिक वर्ष ०७३/७४ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत धानको ‘सुपरजोन’ कार्यक्रम ल्यायो । कार्यक्रममार्फत कृषि यान्त्रीकीकरण र सिँचाइका लागि करोडौँ खर्च भएको छ । तर, खेतीमा प्रविधि भित्र्याए पनि झापामा भने प्रत्येक वर्ष धानको उत्पादन घट्दो अवस्थामा छ ।
पछिल्लो तीन वर्षको तुलनामा झापामा यो वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा २८ हजार ६३ दशमलव ५ मेट्रिकटन कम धान उत्पादन भएको कृषिज्ञान केन्द्र झापाले जनाएको छ । झापाको कचनकवल र भद्रपुर १, २ र ३ को १३०० हेक्टर क्षेत्रफलमा सुपरजोन कार्यक्रम लागू हुँदै आएको छ ।
यस वर्षदेखि १५ वटै स्थानीय तहका २ सय हेक्टरमा कार्यक्रम लागू गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जनाएको छ । कृषिलाई विभिन्न कार्यक्रममार्फत वर्षेनी यन्त्रीकीकरण गरिँदा धानको उत्पादनमा उल्लेखीय सुधार आउन नसकेको केन्द्रको भनाइ छ ।
यस वर्ष झापामा ८४ हजार ८७५ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको थियो । उक्त क्षेत्रफलबाट ३ लाख ८१ हजार ९३७ दशमलव ५ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्र झापाका सूचना अधिकारी शेषराज पौडेलले जानकारी दिए । यस वर्ष झापाको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिकटन रहेको उनको भनाइ छ ।
आर्थिक वर्ष ०७३/७४ मा ८७ हजार ५ हेक्टर क्षेत्रफलमा धान लगाउँदा ४ लाख १० हजार मेट्रिकटन धान फलेको थियो भने आर्थिक वर्ष ०७४/७५ मा ३ लाख ९९ हजार ८४३ मेट्रिकटन उत्पादन भएको थियो ।
गत आर्थिक वर्ष झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलबाट ४ लाख २५० मेट्रिकटन बर्खे धान उत्पादन भएको उनले बताए । गत वर्ष प्रतिहेक्टर ४ दशमलव ६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रको तथ्यांक छ । यस पटक फैजी कीरा र फड्के कीराले ४ सय ३३ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुर्याएको पौडेलले बताए ।
‘झापामा पनि आकासेपानीको भरमा खेती गर्नुपर्छ । यसपटक सुरुमा पानी परे पनि पछि परेन,’ उनले भने, ‘खेतीयोग्य जमिन मासेर निजी वन लगाउने प्रचलन पनि सुरु भयो । प्लटिङको पनि समस्या छ । त्यसकारण उत्पादन घट्यो ।’सरकारले तोकेको धानको समर्थन मूल्यले किसानले चित्त बुझाएका छैनन् । समर्थन मूल्यले धानको उत्पादन लागत पनि नउठ्ने किसानको भनाइ छ ।
अहिले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा तथा मध्यम धानको मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा रहेको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । अहिलेसम्म चैते धानको भने समर्थन मूल्य तोकिएको छैन । यो धानमा चिस्यानको मात्र बढी भएकाले मूल्य तोक्न समस्या भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
‘सरकार दुई बाली धान उत्पादन गर् भन्छ, तर उत्पादन भएको धानको मूल्य तोक्न सक्दैन,’ कचनकवलका कृषक नवराज भट्टराईले भने, ‘अनि यसरी कसरी किसानको सम्मान हुन्छ ।’ चैते धानको समर्थन मूल्य नतोकिँदा व्यापारीले जति भन्यो त्यति मै बेच्न बाध्य हुनुपरेको किसानको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।