
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा हार्ने कल्पना नगरेका ठाउँमा पनि हारिएको बताएका छन् ।
गृहजिल्ला चितवनको इच्छाकामना गाउँपालिकामा नेकपाका पदाधिकारीका लागि आयोजित शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा उपनिर्वाचनबारे समीक्षा भएको र कल्पना नगरिएका ठाउँमा हारिएको निष्कर्ष सुनाएका छन् ।
‘उपनिर्वाचनमा केही शिक्षा र केही उत्साह मिश्रित नतिजा आएको छ,’ कार्यक्रममा उनले भने, ‘हामीले हार्ने कल्पना नगरेका ठाउँ पनि हारियो, जसले अलि गम्भीर शिक्षा लिनुपर्ने आवश्यकता देखियो ।’
निर्वाचनका बेला पार्टी र जनताको सम्बन्ध जति सजीव हुनुपर्थ्यो त्यो नहुँदा पराजित हुनुपरेको निष्कर्ष स्थायी कमिटी बैठकले निकालेको उनले बताए । ‘निर्वाचनमा केही न केही भ्रम सिर्जना भयो भन्ने निष्कर्ष स्थायी कमिटीमा निकालेका छौं,’ उनले भने, ‘अब ३ वर्ष हाम्रो पार्टीको काम र सरकारको कामबाट हामी एक्लैले दुईतिहाइ बहुमत ल्याउने कुराको प्रतिबद्धता व्यक्त गरेका छौं ।’
स्थायी कमिटी बैठक सकिएको र केन्द्रीय कमिटी बैठकबाट विशेष योजनासहित पार्टी अगाडि बढ्ने अध्यक्ष प्रचण्डले बताए । ‘स्थायी कमिटी बैठक बडो सफलतापूर्वक सकियो । केही दिनपछि केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दैछौं,’ उनले भने, ‘स्थानीय सरकार, प्रादेशिक सरकारको निम्ति निर्देशिका बनाउने, विधानमा संशोधन गरेर पार्टीलाई अगाडि बढाउन सहज तुल्याउने छौं ।’
स्थानीय स्तरमा एकतावद्ध भएर जनतासँग नङ–मासुको सम्बन्ध बनाएर जनताको काममा अगाडि बढेर जनताको मनमष्तिष्क जित्ने काम गर्न प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए । ‘कम्युनिस्टले मात्रै देशको विकास गर्नसक्ने प्रमाणित तथ्य हो,’ उनले भने ।
भारतले दार्चुला जिल्लामा गरेको सीमा अतिक्रमणबारे बोल्दै प्रचण्डले नेपालको १ इन्च भूमि पनि नछाड्ने बताए । ‘नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेपछि हामीले भनेका छौं – हाम्रो १ इन्च पनि मिचेको सहँदैनौं । कालापानीबाट विदेशी सेना हटाउने अवसर हो भनेर लागेका छौं,’ उनले भने, ‘विकास र समृद्धिको अभियान शुरू भएको छ तर जनताले खोजे जस्तो उत्साह देखिएन ।’