०७ असार २०८३, आइतबार

फर्किँदै भारतीय राजदूत : विवादमा परेनन्, नेपाल र भारतका प्रधानमन्त्रीको दुई–दुईपटक राजकीय भ्रमण गराउन भूमिका खेले

पुस १४, २०७६
फर्किँदै भारतीय राजदूत : विवादमा परेनन्, नेपाल र भारतका प्रधानमन्त्रीको दुई–दुईपटक राजकीय भ्रमण गराउन भूमिका खेले

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी कार्यकाल सकेर मंगलबार दिल्ली फर्किँदै छन् । उनले नेपालमा दुई वर्ष नौ महिना तीन दिन बिताए । नेपालबाट स्वदेश फर्केलगत्तै उनले ३७ वर्षे लामो कूटनीतिक सेवाबाट अवकाश पाउँदै छन् ।

नेपालमा स्थानीय तहको निर्वाचन भइरहँदा पुरी राजदूतका रूपमा आएका थिए । निर्वाचन प्रक्रियालाई सघाउने भारतीय नीतिको कार्यान्वयनबाट उनले नेपालमा काम सुरु गरेका थिए । तीन तहको निर्वाचनपछि सबैभन्दा ठूलो दल भएको तत्कालीन एमालेका अध्यक्ष केपी ओली र भारतीय नेतृत्वबीच संवाद सहजीकरणमा उनले सुरुमै भूमिका निर्वाह गरे ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनपछि कम्युनिस्ट पार्टीको बहुमत आउने र सरकार बन्ने निश्चित थियो । त्यस अवस्थामा एमाले नेतृत्व र भारतीय प्रधानमन्त्रीबीच सम्बन्ध सहजीकरण पुरीको अर्को महत्वपूर्ण मिसन थियो । यसमा उनले समन्वयकारी भूमिका निर्वाह गरे । 

तीन तहको निर्वाचनलगत्तै ७ माघमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोनमार्फत नयाँ सरकारको नेतृत्वका लागि बधाई दिए र १८ माघमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष प्रतिनिधिका रूपमा नेपाल पठाए । त्यो विशेष वार्ताका लागि भारतका तर्फबाट पुरी र एमालेबाट डा. राजन भट्टराईले समन्वय गरेका थिए । स्वराजको भ्रमणपछि भारत सरकार र नेपालको नयाँ सरकारबीच समझदारी विकास भयो । ०७३ साउनमा सरकारबाट हटेपछि ओली र भारतीय नेतृत्वबीचको तिक्तता सामान्यीकरण भयो । ३ फागुन ०७४ मा प्रधानमन्त्री भएपछि केपी ओलीले भारतको राजकीय भ्रमण गरे । त्यसपछि मोदीले नेपालको राजकीय भ्रमण गरे । त्यसयता ओली र मोदीले क्रमशः दुई–दुईपटक भ्रमण गरेका छन् । 

रणजित रायपछि पुरी १२ चैत ०७३ देखि नेपालका लागि २४औँ राजदूत नियुक्त भएका थिए । पुरीपछि नेपालका लागि भारतीय राजदूत अझै तय भएको छैन । नवनियुक्त भारतीय विदेशसचिव हर्षवद्र्धन श्रींगला अमेरिकाबाट दिल्ली फर्केपछि नेपालमा पठाउने राजदूत तय हुनेछ । एउटै समयमा भारतीय विदेशसचिव नियुक्त भएका विजयकेशव गोखले पनि जनवरी २० मा सेवानिवृत्त हुँदै छन् । 

 पुरीकै कार्यकालमा अरुण तेस्रो जलविद्युत् परियोजना र पेट्रोलियम पाइपलाइन निर्माण
राजदूत पुरी सिख समुदायबाट नेपालमा राजदूत भएका दोस्रा व्यक्ति हुन् । नेपालका लागि प्रथम भारतीय राजदूत सुरजितसिंह मजिठिया नेपाल पठाइएका पहिलो सिख राजदूत थिए । पुरी नेपाल आएका दोस्रा सिख राजदूत हुन् । नेपालमा रहेका सिख समुदायलाई आफ्नो कार्यकालमा उनले समेटेका छन् । उनकै कार्यकालमा गुरु नानकको ५५०औँ जन्मजयन्ती मनाइएको छ । सिख समुदायले नेपालको यातायात तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएका छन् । नेपालमा सिखसम्प्रदायको इतिहास पुरीकै कार्यकालमा आधिकारिक रूपमा लेखिएको छ ।

पुरीका पालामा महत्वपूर्ण विकास आयोजना अघि बढेका छन् । अरुण तेस्रो जलविद्युत् परियोजना सुरु भयो । पेट्रोलियम पाइपलाइन यिनकै पालामा सुरु भएर सम्पन्न भयो । हुलाकी राजमार्गको काम अघि बढिरहेको छ । रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सकिएको छ । भारतीय सहयोगमा रेलमार्ग निर्माण गर्ने सहमति पुरीकै समयमा भयो । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठकमा पुरीले रोकिएका परियोजनाको कारण तय गरेर दुवै सरकारले समस्या समाधान गर्नुपर्ने जोड दिँदै आए । 

 नेपाल : पहिलो र अन्तिम  छिमेक अनुभव
नेपाल आउनुभन्दा तीन वर्षअघि पुरी ब्रसेल्समा भारतीय राजदूत थिए । त्यसभन्दा अघि उनले न्युयोर्कस्थित भारतीय स्थायी प्रतिनिधि कार्यालयमा उपप्रमुखका रूपमा काम गरेका थिए । भारत सुरक्षा परिषद्को अस्थायी सदस्य भएका वेला सन् २०११ देखि एक वर्ष भारतको सुरक्षापरिषद्का वरिष्ठ सदस्यका रूपमा काम गरेका थिए । पुरीले सन् १९८२ मा विदेश सेवा सुरु गरेका थिए । उनले आफ्नो कूटनीतिक सेवा अवधिमा जर्मनीमा दुईपटक, मस्कट, बैंकक, काराकासमा काम गरेका थिए ।

दिल्लीमा उपशिष्टाचार महापाल तथा सहसचिवका रूपमा विदेश मन्त्रालयको युएनको इकोनोमिक र सोसियल मामिला हेर्ने डेस्कमा पनि काम गरेको उनीसँग अनुभव छ । पुरीले नेपाल मात्र नभएर भारतको छिमेक मामिला हेर्ने कुनै पनि निकायको अनुभव यसअघि लिएनन् । नेपाल नै उनको छिमेकसम्बन्धी उनको पहिलो र अन्तिम अनुभव हो । पुरीले दिगो विकास र जलवायु परिवर्तनमा रुचि राख्ने गरेका छन् । ब्राजिलको रियो द जेनेरियोमा सन् २०१२ मा आयोजित दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भारतीय प्रतिनिधिमण्डलका तर्फबाट प्रमुख वार्ताकारका रूपमा काम गरेका थिए ।  नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्