जंगली हात्तीले घर भत्काइदिएपछि गोलबजार नगरपालिका–३ जमदहको मुसहरि नयाँ बस्तीका दलित परिवारको बिचल्ली भएको छ । एक साताअघि स्थानीय चार दलित परिवारका पाँचवटा घर हात्तीले भत्काएको थियो ।
बस्दै आएको झुपडी हात्तीले भत्काएपछि आर्थिक रूपमा अत्यन्तै विपन्न मुसहर परिवार शीतलहरका वेला खरले बारेको छाप्रोमा बस्न बाध्य छन् । घर नहुँदा शीतलहरमा रात काट्नै कठिन हुने पीडित अशोक सदायले बताए ।
‘वृद्ध बुबाआमा र स–साना छोराछोरीलाई चिसोबाट जोगाउन मुस्किल परिरहेको छ,’ सदायले भने, ‘ओत लाग्ने झुपडी पनि हात्तीले भत्काएपछि खरले बारेर कटेरो बनाएका छौँ । त्यही कटेरोको चिसो भुइँमा पराल ओछ्याएर रात काट्ने गरेका छौँ ।’
अझै हात्तीको त्रास
हात्तीपीडितलाई कटेरोमा रात काट्दा हात्तीको त्रास झनै बढेको छ । हात्ती फेरि आउने हो कि भनेर रातभर निद्रा नलाग्ने अर्का हात्तीपीडित बद्री सदायले बताए । अशोक, बद्री, रामचरित्र सदाय, दिलबर सदायलगायतको पाँचवटा घर हात्तीले भत्काएको छ ।
जंगली हात्तीको आक्रमणमा परी २३ मंसिरमा मिर्चैया नगरपालिका–९ गौरीघाटका श्रवण महतोका १० वर्षीय रवीन्द्र महतोको मृत्यु भएको थियो । गोलबजार नगरपालिका–१० धरमपुरका ५५ वर्षीय कंशलाल लामा घाइते छन् । लामा विराटनगरमा १८ दिनको उपचारपछि शुक्रबार घर फर्किएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । जंगली हात्तीले धनगढीमाई नगरपालिका–१३ मा पनि ६ वटा घर भत्काएको छ ।
नगरपालिकाले त्रिपाल दिने
गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले २३ मंसिरको राति चुरे जंगलतिरबाट आएको हात्तीले स्थानीयको पाँच घर भत्काएको बताए । ‘घर भत्काएपछि छिमेकीले खर उपलब्ध गराए छन्,’ मोक्तानले भने, ‘पीडित परिवार तत्कालका लागि टहरोमा बस्न थाल्नुभएको छ ।’ उनले नगरपालिका र वडाकार्यालयले हात्तीपीडित चारसहित मुसहर बस्तीका १२ घर परिवारलाई घर नबनुन्जेल त्रिपाल र म्याट दिइने बताए । ‘रातको समयमा हात्ती आएर आक्रमण गर्न सक्ने त्रासले अन्य परिवार पनि कटेरोमै बसिरहेकाले चिसोबाट जोगिनका लागि तत्काल हरेक परिवारलाई एक–एक थान त्रिपाल र म्याट दिने तयारी गरेका छौँ,’ वडाध्यक्ष मोक्तानले भने । नयाँ पत्रिकामा खबर छ ।