
मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ ९३ प्रतिशत सकिएको छ । २९ मंसिर ०७५ मा इटालियन कम्पनी सिएमसी आयोजना निर्माणबाट बाहिरिँदा सुरूङ फिनिसिङ ९० प्रतिशत सकिएको थियो । आयोजनाको सुरुङ निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको दुई महिनामै तीन प्रतिशत सकेको मेलम्ची विकास समितिले जनाएको छ । सिनो हाइड्रोले १२ असोज ०७६ मा ८५ करोड एक लाख ९४ हजार चार सय ५८ रुपैयाँमा सुरूङ फिनिसिङको ठेक्का लिएको थियो । कम्पनीले सुरूङ फिनिसिङको काम १२ महिनामा सक्ने गरी सम्झौता गरेको छ ।
हेडवक्र्स निर्माण ६८ प्रतिशत मात्रै
आयोजनाको हेडवक्स निर्माण भने हालसम्म ६८ प्रतिशत मात्रै सकिएको छ । सिएमसीले आयोजना छोड्दा आयोजनाको हेडवक्र्स निर्माणमा ६० प्रतिशत भएको थियो । दुई महिनाको अवधिमा सिनो हाइड्रोले आठ प्रतिशत काम पूरा गरेको आयोजना प्रमुख तिरेसप्रसाद खत्रीले बताए । २६ आसोजमा सिनो हाइड्रोले हेडवक्र्स निर्माणको ठेक्का एक अर्ब दुई करोडमा लिएको थियो । ठेक्का सम्झौताअनुसार हेडवक्र्स निर्माण कम्पनीले १५ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।
ठेक्का सम्झौताअनुसार समयावधिभित्रै काम सके कम्पनीले बोनस पाउने र पछाडि धकेलिए जरिवाना तिर्नुपर्नेछ । सोही कारण निर्माण कम्पनीले कामको गति बढाएको आयोजनाले जनाएको छ । ‘बोनस र जरिवानाको सर्तका कारण पनि सिनो हाइड्रोले समयमै काम सक्ने आशा लिएका छौँ,’ आयोजना प्रमुख खत्रीले भने । सिनो हाइड्रोले सम्झौता अवधिमा काम सके ठेक्का रकमको दैनिक ०.१५ प्रतिशत बोनस पाउनेछ भने सम्झौता अवधिमा काम नसके दैनिक ०.१५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्नेछ । बोनस र जरिवानाको सर्त दुवै ठेक्कामा लागू हुनेछ । कम्पनीले अहिले दैनिक तीन सयजनाभन्दा बढी कामदार खटाएर काम गरिरहेको खत्रीले जानकारी दिए ।
के–के काम बाँकी ?
६ जेठ ०७६ मा मन्त्रिपरिषद् बैठकले फास्ट ट्याकमा मेलम्चीको कामअघि बढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णयअनुसार आयोजनालाई १० भागमा विभाजन गरी काम भइरहेको छ । हेडवक्र्स र सुरुङ फिनिसिङलाई मुख्य दुई भागमा बाँडिएको छ । सहायक ८ प्याकेज गरी १० भागमा आयोजना निर्माणलाई बाँडिएको छ ।
सुरूङ फिनिसिङ र हेडवक्र्स निर्माणको काम सिनो हाइड्रोले गरिरहेको छ । यस्तै, हाइड्रो मेकानिकलको काम पनि सँगै भइरहेको छ । यसअन्तर्गत ३२ वटा ‘गेट’ जडान गर्नुपर्नेछ । जसमध्ये ५ गेट जडान भइसकेका छन् । अन्य जडानको काम भइरहेको खत्रीले बताए । भेन्ट सार्फ (सुरुङभित्र हावा पठाउन बनाइने प्वाल) को काम पनि भइरहेको छ । २६ किलोमिटर सुरूङमा तीनवटा भेन्ट सार्फ रहनेछन् । यसबाहेक डिआई पाइप जडान गर्ने, पाइप सपोर्ट स्ट्रक्चर निर्माण गर्नेलगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।
सम्झौताअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी
ठेक्का सम्झौताअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन कम्पनीसँग बोनस र जरिवानाको सर्त राखेको आयोजनाले जनाएको छ । सरकारले चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रममार्फत गरेको छ । सोही घोषणाअनुरूप मेलम्चीको पानी सुन्दरीजल खसाल्ने योजना रहेको मेलम्ची विकास समितिले जनाएको छ । ‘सरकारको नीतिअनुसार नै असार मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं झार्ने योजनामा छौँ ।
सिनो हाइड्रोले पनि सोही नीतिअनुरूप काम गरिरहेको छ,’ खत्रीले भने, ‘असारमा सुन्दरीजलमा पानी खसाल्न फास्ट ट्रयाकमा काम भइरहेको छ ।’ यसका लागि हेडवक्र्समा कफरड्याम(अस्थायी) बनाइने खत्रीले जानकारी दिए । अहिले सिनो हाइड्रोले कफरड्याम र पर्मानेन्ट ड्याम दुवैको काम एकैसाथ गरिरहेको उनको भनाइ छ । ‘पुस अन्तिम सातासम्म खोला ड्राइभर्सन ट्रनेलबाट ड्राइभर्ट भइसक्छ । त्यसपछि ड्याम निर्माण सुरू हुन्छ,’ उनले भने ।
आयोजनाको सेन्सर जडानको ठेक्का स्पेनिस कम्पनी जिफोरले लिएको छ । कम्पनीले आठ करोड ७० लाखमा सेन्सर जडान ठेक्का सकारेको हो । तर, ठेक्का सम्झौता भने भइनसकेको र केही दिनभित्र सम्झौता हुने आयोजनाले जनाएको छ । सुरूङभित्र पानीको बहाव, अवस्था र सुरुङभित्रको गतिविधि निगरानीका लागि सेन्सर राखिने खत्रीले बताए । सेन्सरको नियमन काठमाडौंको सुन्दरीजल र सिन्धुपाल्चोकको अम्बाथानबाट हुनेछ । नयाँ पत्रिकामा खबर छ ।