चितवन, ५ पुस - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पप्रभावित १७ जिल्लामा राहतका लागि छिट्टै काम अघि बढाइने बताउनुभएको छ ।
ती जिल्लामा सङ्कलन भएका प्रभावितको घरधुरी सर्वेक्षण गरी वास्तविक क्षतिको पहिचान गरी पुनःनिर्माणका लागि राहत प्रदान गरिने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वास्तविक क्षतिको पहिचान भएसँगै पुनः घर निर्माणका लागि किस्ता बन्दीमा रकम उपलब्ध गराउने बताउनुभयो ।
घरको डिपिसी गर्नुअघि रु ५० हजार, डिपिसीपछि रु एक लाख ५० हजार, छानो छाउनुअघि रु ७५ हजार र शौचालय निर्माणपछि मात्र २५ हजार रुपैयाँ बैंकमार्फत उपलब्ध गराइने उहाँले बताउनुभयो । अब निर्माण गरिने संरचना पूर्णरुपमा भूकम्पप्रतिरोधी हुनुपर्ने भन्दै उहाँले यसअघि भूकम्पले भत्काएर पुनः आफँै बनाएका घर भूकम्पप्रतिरोधी भएमा पनि राहत उपलब्ध गराइने ज्ञवालीले बताउनुभयो ।
उहाँले यी जिल्लामा हालसम्म जे जति ढिला भएपनि अब तीव्रगतिमा काम अघि बढ्ने बताउनुभयो । चितवन जिल्लाका स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले जिल्लामा १८ हजार सातसय ५२ वटा निवेदन परेको बताउनुभयो । सुरुमा पूर्ण र आंशिक गरी १५ हजार सात सय ४९ घरधुरीले कार्ड लिएकामा पछि छुटेको सङ्ख्या थपिएको पनि उहाँले बताउनुभयो ।
सो अवसरमा सांसद रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, गीता वाग्ले, सन्तकुमार दराई लगायत दलका प्रमुख एवम् प्रतिनिधिले भूकम्पप्रभावितले राहत पाउन ढिलाइ भएको भन्दै अबको कामलाई तीव्रता दिन आग्रह गर्नुभएको थियो ।