भारतको उत्तर प्रदेशस्थित बाँदामा गौशालाहरूको स्थिति नाजुक रहेको छ ।
भोक र अत्यधिक चिसोका कारण त्यहाँ २५ गाई तड्पी तड्पी मरेका छन् ।
पैलानी तहसील अन्तर्गत खप्टिहा गौशालामा आइतवार अचानक एसडीएम पुगेपछि घटनाको खुलासा भएको हो ।
सरकारी सहायता पाएको उक्त गौशाला गैरसरकारी संस्थाले चलाइरहेको छ । त्यहाँ मृत गाईहरूको लाश यत्रतत्र छरिएको पाइयो । केही शवलाई कुकुरहरूले लुछीलुछी खाइरहेका थिए । जीवित गाईहरूलाई पनि चारा नदिइएकाले दयनीय स्थिति थियो ।
बाँदाकै सरकारी गौशालामा चिसो र भोकका कारण डिसेम्बरको शुरूआतमा दुई दिनभित्र ३० भन्दा बढी गाईको मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त भएपछि दुई कर्मचारीलाई निलम्बन गरिएको थियो । ती गाई मरेपछि तिनको शव जंगलमा फ्याँकिएको बताइएको छ ।
अनि नोभेम्बर महिनामा उत्तर प्रदेशको बांदा–टांडा राजमार्गमा ट्रकले ठोकेर १२ गाईको मृत्यु भएको थियो । गाईवस्तुको झुण्डलाई तीव्र गतिमा आएको एक ट्रकले ठक्कर दिएपछि घटनास्थलमै गाईहरूको मृत्यु भएको थियो ।
सेप्टेम्बर महिनामा पनि ६ वटा गाई मरेका थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ गोप्रेम देखाइरहन्छन् । तर उनकै शासनमा हरेक महिना गाईहरू सामूहिक रूपमा मरिरहेका छन् ।
एजेन्सी