
सुनसरी चतराका कृष्णबहादुर गिरी अर्थात सिद्धबाबा (कृष्णदास) तीन लाख धरौटीमा रिहा भएका छन्। आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई धरौटीमा सोमबार रिहा गरिएको हो।
उनको मुद्दा जिल्ला अदालत इनरुवा सुनसरीमा दुई दिनसम्म चलेको थुनछेक बहस सकिएपछि अदालतले गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको हो । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए।
सिद्धबाबाको मुद्दामा थुनछेक बहसका लागि न्यायाधीश बीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीको बेञ्चमा परेको थियो।
काठमाडौँबाट चतराधाममा रहेको सिद्धबाबा भनिने गिरीको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते आफूलाई जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता गराएकी थिइन् ।
सिद्धबाबा गिरीको विरुद्धमा प्रहरीमा मुद्दा दर्ता भएपछि मुटुमा समस्या देखिएको भन्दै अभियोग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ होमको सघन उपचार कक्षमा भर्ना भएका थिए । भर्ना भएकै बेला सिद्धबाबा गिरीलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद शर्माको कमाण्डमा खटिएको प्रहरीको टोलीले मंसिर १६ मा पक्राउ गरेको थियो ।