२२ असार २०८३, सोमबार

सीसी क्यामेराको फुटेज हेर्दै कारबाही

पुस १५, २०७६
सीसी क्यामेराको फुटेज हेर्दै कारबाही
फाइल तस्वीर

मैतीदेवीका अमित देउजा मंगलबार पौने तीन बजे हस्याङफस्याङ गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखामा पुगे । महिला साथीसहित पुगेका उनको हातमा प्रदेश ३–०२–०१२ प ५९१२ मोटरसाइकलको लाइसेन्स थियो ।

शाखाको ढोकाबाट चियाउँदै उनले भने, ‘मैले ट्राफिक नियम उल्लंघन गरेकोले मोटरसाइकलको कागजपत्र लिएर आउनू भनेर बिहान फोन आएको थियो । मैले त त्यस्तो केही गरेको छैन ।’ त्यतिबेला खोजतलास शाखामा ट्याक्सीमा सामान छुटेर खोजी गरिदिन दिएको उजुरीको छानबिन गर्न ट्राफिक प्रहरीले बोलाएका चालक र उजुरी गर्ने बीच चर्काचर्की चलिरहेको थियो । ट्राफिक प्रहरी नायब निरीक्षक शंकर पाण्डे विवाद छाडेर देउजाको गुनासो सुन्नतिर लागे । देउजाको ब्लुबुक उनले लिए । त्यसमा उल्लेख भएको मोटरसाइकल नम्बर कम्प्युटरमा खोज्नतिर लागे । उनले लेन मिचेको विवरण थियो । पाण्डेले अर्को फोल्डरबाट उनले उल्लंघन गरेको फुटेज देखाए ।

देउजा मंसिर २६ को बिहान हतारमा थिए । उनको पर्खाइमा बसेका साथीलाई भेट्न मोटरसाइकलमा माइतीघर हुँदै रत्नपार्कतिर हुइँएिका थिए । बबरमहलबाट माइतीघर सडक खण्डमा अरु दिनजस्तै त्यो दिन पनि जाम थियो । उनी जाम छल्न सेन्ट जेभियर्स कलेज अगाडि माइतीघरको डिभाइडर र अर्को लेन मिचेर आफ्नो लेनमा छिरेका रहेछन् ।

त्यतिबेला त्यहाँ न ट्राफिक प्रहरी थिए न त अर्को ठाउँ पुग्दा पनि ट्राफिक प्रहरीले सचेत गराएका थिए । तर, नियम मिचेको १४ दिनपछि उनलाई ट्राफिक प्रहरीले फोन गरी बोलाएका थिए । ‘विदेशमा मात्रै यस्तो हुन्छ भन्ने सुनेको थिएँ । ट्राफिक नियम मिच्दा सीसीटीभी हेरेर कारबाही होला भन्ने सोचेको पनि थिइनँ,’ उनले भने । मोटरसाइकलको भिडियो देखेपछि उनीसँगै आएकी महिला साथीले भने देउजालाई जिस्क्याइरहिन् । देउजा भने मुसुमुसु हाँसी मात्र रहे । ट्याक्सीमा सामान हराएर उजुरी गर्ने र चालकको विवाद पनि सुनसान नै भयो । सबैको ध्यान ट्राफिक प्रहरीले प्रविधिमार्फत कसरी कारबाहीको दायरामा ल्याइरहेको छ ? भन्दै चासो दिएर हेरे ।

देउजाभन्दा अघि नै महाराजगन्जमा लेन मिचेर अरूभन्दा अघि पुगेका नारायण श्रेष्ठलाई भिडियो देखाएर जरिवानाको चिट थमाइसकेको थियो । ‘फोन गरेर तपार्इं आउनुपर्‍यो भन्यो । आत्तिएर पुगे । बैंक गएर फर्कंदा लेन मिचेको भिडियो देखाए,’ नारायणथान बस्ने उनले भने, ‘आफूले गरेको गल्तीको भिडियो नै देखाएपछि होइन भन्नै सकिनँ । चिट थमायो लिएर फर्कें ।’ एक घण्टाको कक्षा र पाँच सय जरिवाना भने फुर्सदमा गएर तिर्ने उनले बताए । ट्राफिक प्रहरीले आफूले गरेको गल्तीको भिडियो देखाउँदा सपनाजस्तै लागेको उनले बताए ।

ट्राफिक प्रहरीले सडकको लेन मिच्ने मात्रै होइन, सार्वजनिक बसमा झुन्ड्याउने चालकलाई पनि सीसीटीभीको फुटेजमार्फत कारबाहीको दायरामा ल्याउन थालेको छ । जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदा हेल्फर झुन्ड्याएको दृश्यका आधारमा बा २ ख ८४९१ बसको विवरण संकलन गरिरहेको छ । ‘सीसी क्यामेरामा कैद भएको भिडियोका आधारमा ट्याक्सीमा छुटेको सामानको खोजी हुने गरेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले भने, ‘ट्याक्सी चढेर कुन बेला कहाँ गएको हो ? भन्ने सीसी क्यामेराबाट थाहा पाइहाल्छ । सामान हराउँदा उजुरी गर्न ट्याक्सी वा अन्य सवारीको नम्बर नै हुनुपर्छ भन्ने छैन ।’

महानगरीय प्रहरी (मेट्रो) रानीपोखरीमा काठमाडौं, भक्तपुर र ललितपुरको सडक र गल्लीको सीसी क्यामेराको रेकर्ड हुन्छ । ट्राफिक नियम उल्लंघन गरेको भिडियो फुटेजका आधारमा धमाधम चालकलाई कारबाही गरिरहेको ढकालले बताए । १६ हजार ३ सय ६३ चालकले नियम उल्लंघन गरेको फुटेज भए पनि १३ हजार ९ सय ८१ जना चालकलाई कारबाही गरिसकेको उनले जनाए । साउनदेखि मंसिरसम्म ५ हजार ५० चालकलाई भिडियो फुटेज हरेर कारबाही गरिएको उनले सुनाए ।

ट्राफिकले महानगरीय प्रहरीबाट आउने फुटेज र सीसी क्यामेरा हेरेर तत्काल सडकमै पनि कारबाही गर्ने गरेको छ । फुटेज हेरेर धेरैपछि भन्दा पनि फिल्डमै कारबाहीमा पर्ने चालकको संख्या बढी छन् । ट्राफिक प्रहरीले फुटेज हेरेर साउनमा १ सय ४३, भदौमा १ सय ३३, असोजमा ६३, कात्तिकमा १ सय ८ र मंसिरमा १ सय ३३ जना चालकलाई जरिजना तिराएको छ ।

जनशक्ति अभावले सबै सडकमा ट्राफिक प्रहरी व्यवस्थापन गर्न नसक्ने भएपछि प्रविधिको प्रयोग उपयोगी भएको ढकालले बताए । ट्राफिक प्रहरी नभएपछि एक तर्फी सडकमा लैजाने, लेन मिच्ने, छत र ढोकामा यात्रु चढाउने, मोटरसाइकलमा दुई जनाभन्दा बढी चढाउने गर्छन् । ‘ट्राफिक छैन नियम उल्लंघन गर्दा नि केही हुँदैन भन्नेलाई प्रविधिको सहायताले कारबाही गरिरहेका छौं,’ उनले भने ।

डिल्लीबजार पीपलबोटबाट कारागारतर्फ जाने चोकबाट सिधै भित्र जाने सानो एकतर्फी सडकमा कारबाहीमा पर्ने चालकहरू यसका उदाहरण हुन् । यो चोकमा ट्राफिक प्रहरी नभएको मौका छापेर अर्जुन ओझा मंसिर २६ गते बिहान ११ बजेर २७ मिनेटमा एकतर्फी सडक हुँदै ज्ञानेश्वर गएका थिए । ट्राफिक प्रहरीले भिडियो फुटेज हेरेर जरिवाना तिराएको छ ।

कसरी गरिन्छ कारबाही ?
उपत्यकाको सडकको भिडियो रेकर्ड महानगरीय प्रहरी रानीपोखरीमा हुन्छ । ट्राफिक नियम उल्लंघन गर्ने गाडी नम्बरसहितको विवरण र भिडियो फुटेज ट्राफिक प्रहरी महाशाखालाई उपलब्ध गराएपछि छानविन अघि बढाइन्छ ।
नियम उल्लंघन गरी कारबाही गर्नुपर्ने सवारीसाधनको विवरण यातायात व्यवस्था कार्यालयबाट मागिन्छ ।

त्यसकै आधारमा सवारीधनीलाई ट्राफिक प्रहरीको खोजतलास शाखाबाट फोन गरेर बोलाइन्छ । चालकलाई नियम उल्लंघन गरेको सीसीटीभी फुटेज देखाई गल्तीअनुसार पुर्जी (चिट) थमाउने गरिन्छ । चिटमा तोकिएको जरिवाना तिरेर ट्राफिक प्रहरीले राखेको लाइसेन्स वा अन्य कागजपत्र लिनुपर्ने हुन्छ ।कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्