
उखु किसानले कहिले पाउलान अनुदान ? मन्त्री भुसाल भन्छन्, 'अब खातामै उपलब्ध हुन्छ'
कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले उखु किसानले भोगिरहेका समस्या समाधान गर्न सरकारका विभिन्न संयन्त्रले काम गरिरहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्शद्वारा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री भुसालले आगामी दिनमा किसानकै खातामा अनुदानको रकम उपलब्ध हुने व्यवस्था गर्न लागिएको जानकारी दिए।
देश कुखुराको मासुमा आत्मनिर्भर भइरहँदा उपभोक्ता र उत्पादनकर्ता दुवै मारमा परेको अवस्था रहेको बताउँदै उनले सरकार, निजी क्षेत्र र दातृ निकायले विकासको विगतका प्रयासमा निकै सुधार गरेर अघि बढ्ने बताए।
पर्यटनमन्त्री भट्टराई भन्छन् , ‘अबको यात्रा उज्यालै उज्यालोतिर’
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
भ्रमण वर्षमा २० लाख पर्यटकको स्वागत गर्नेमात्र नभई आगामी सन् २०२० सम्मलाई पर्यटक दशकका रुपमा मनाएर नेपालको आर्थिक समृद्धिलाई पर्यटनमार्फत बडोत्तरी गर्ने लक्ष्य पनि निर्धारण गरेको छ ।
जनवरी १ तारिखका दिन भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ भने त्यसको छ महिनापछि पर्यटक दशकको घोणाको तयारीमा जुटेको तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए।
भ्रमण वर्षको नेतृत्व गर्ने पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पटकपटक भन्दै आएका पर्यटक दशक कार्यक्रमलाई अभियानकैरुपमा अघि बढाएर महत्वपूर्ण पर्यटकीय पूर्वाधार विस्तारमा केन्द्रित हुने जनाइएको छ।
भ्रमण वर्ष राष्ट्रिय महोत्सवको अभियान मात्र हैन यसले सिङ्गो मुलुकलाई एकताबद्ध गराई विश्वसामु नेपालको पहिचानलाई झल्काउन पनि सहयोगसिद्ध हुने विश्वास लिइएको छ । पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको सन्दर्भमा सबै राजनीतिक दलका प्रमुखसँग पनि छलफल गरेको र अभियानलाई सफल बनाउने राजनीतिक प्रतिबद्धता तथा निजी क्षेत्र, सामाजिक सङ्घसंस्था, गैरसरकारी संस्था सबैको उत्साहबद्र्धक सहभागिता र सक्रियताले राष्ट्रिय एकताको भावनालाई मजबुद तुल्याएको बताए।
एमसीसीलाई नकारात्मक रुपमा नबुझौँ, हिउँदे अधिवेशनबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई नकारात्मक रुपमा प्रस्तुत गर्न नहुने बताएका छन्।
मन्त्रालयमा पत्रकार सम्मेलन गरेर ज्ञवालीले एमसिसीअन्तर्गत चयन भएका परियोजना र तिनले नेपालको विकासमा पु-याउने योगदानको समीक्षा गर्न जरुरी रहेको बताउँदै नेपालको विकासका आवश्यकतालाई दृष्टिगत नगरी प्रतिकूल प्रभाव पार्नेखालका अभिव्यक्ति अवाञ्छनीय रहेकाे बताए।
राष्ट्रको भौतिक पूर्वाधार निर्माणसँगै राष्ट्रिय विकासका आवश्यकतामा केही हदसम्म भए पनि एमसीसीले भरथेग गर्न सहयाेग पुग्ने उनकाे भनाइ छ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लक्ष्य हासिल गर्न एमसिसी अपरिहार्य भएको उनको कथन थियो । एमसिसीको सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले मान्यता दिएको छ ।
संसद्को चालू अधिवेशनबाट एमसिसीलाई अनुमोदन गर्ने गरी सरकारले त्यसलाई सदनमा दर्ता गराएको जानकारी दिँदै उनले सदनबाट पनि त्यो पारित हुनेमा आफू विश्वस्त रहेको बताए।
ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले एमसिसीअन्तर्गत नेपाल सरकारलाई ५० अर्ब अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतमा सेप्टेम्बर २०१७ मा हस्ताक्षर भएको थियो। एमसिसी परियोजनाअन्तर्गत ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन वटा उच्च क्षमतायुक्त सवस्टेशन निमार्णमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भार हुनेछ।
गुठीको गाँठो फुकाउन दौडधुपमा मन्त्री अर्याल
सरकार ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारीमा रहेका बेला भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल सहमतिको बाटो खोजिरहेकी छिन्।
गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ती, विर्ता उन्मुलन लगायत विषय समेटर ऐन ल्याइन लागिएको हो। तर, सरकारले यसअघि संसदमा दर्ता गरेको गुठी विधेयकविरुद्ध आन्दोलन नै भएपछि फिर्ता लिनु परेको थियो ।
फेरि गुठी विधेयकसमेत समेटिने भएपछि मन्त्री अर्यालले सोमबार गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसद्, राजनीतिक अगुवा, काठमाडौं महानगरपालिकाका प्रमुख लगायतका सरोकारवालाहरूसँग मन्त्री अर्यालले छलफल गरेकी हुन्।
त्यस क्रममा सहभागी अगुवाहरूले नयाँ गुठी विधेयक ल्याउँदा काठमाडौं उपत्यकाको गुठीलाइ विशेष व्यवस्था गरेर सम्बोधन गर्न सके राम्रो हुने बताएका थिए। परम्परादेखी संस्कारको रुपमा विकास हुदै आएको काठमाडौं उपत्यकाका गुठी संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरुको माग थियो ।
मन्त्री अर्यालले उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेट्ने योजनामा सरकार रहेको बताइन्। सरकारले एकीकृत कानुन बनाउन लागेको भन्दै उनले त्यसका विषयमा छलफलकै चरणमा रहेकाले ड्राफ्ट बनिनसकेको बताइन्।
‘हामीले ड्राफ्ट बनाउनुभन्दा पहिले सुझाव लिउ भनेर छलफल अगाडी बढाएका छौँ,’ मन्त्री अर्यालले भनिन्, ‘काठमाडौं उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेटेर विधेयक बनाउछौँ ।’
सांसद जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाभित्रका गुठीहरूको संरक्षण र निरन्तरताको प्रत्याभूती नयाँ गुठी विधेयकले गर्नुपर्ने बताए। गुठी संस्कृती, भावनासँग जोडिएको विषय भएकोले संवेदनशील विषय भएको भन्दै उनले संस्कृति सञ्चालनका सन्दर्भमा हस्क्षेप नहुनेगरी परम्परा, संस्कृतिको संरक्षण तथा निरन्तरता हुनेगरी कानुन आउनुपर्ने बताए।
थुनिएका १२२ चिनियाँलाई चीन पठाउने अन्तिम तयारीमा प्रहरी, बोइङ जहाज पर्खिंदै
साइबर अपराध गरेको भन्दै पक्राउ परेर थुनामा रहेका १२२ जना चिनियाँ नागरिकलाई चीन नै पठाउने अन्तिम तयारी नेपाल प्रहरीले गरिरहेको छ ।
बोइङ जहाज आएलगत्तै सबै आरोपीलाई चीन पठाइने प्रहरी उच्च स्रोतले जनाएको छ । आरोपीलाई प्रहरीले चीन ‘डिपोट’ गर्न तयारी अवस्था राखेको जनाइएको छ ।
‘चीनको बोइङ जहाज कुरेर बसिरहेका छन् । भोलि–पर्सी कहिले आउँछ त्यसपछि उनीहरूलाई चीन डिपोट गर्ने तयारी छ,’ स्रोतले भन्यो ।
अनुसन्धानमा अन्य कुनै अपराध गरेको नदेखिएकाले उनीहरूलाई अवैधानिक बसोबास गरेको आरोपमा कारवाही हुने भएको स्रोतले जनाएको छ ।
प्रहरीले अध्यागमन विभागमार्फत अवैधानिक बसोबासको कारवाही गर्नेछ । जसअनुसार आरोपीलाई आफ्नो देश चीन फिर्ता पठाइने छ ।
गत पुस ७ गते साइबर अपराधमा संलग्न भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले १२२ जना चिनियाँलाई पक्राउ गरेका थियो ।
प्रहरीले आरोपीको साथबाट ७४७ मोबाइल र ३३१ ल्यापटप, ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३२७ सीमकार्ड बरामद गरेको थियो । शंकास्पद गतिविधि देखिएकाले प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन थुनामा राख्न म्याद लिएर अनुसन्धान थालेको थियो ।
कार्यकाल पूरा गरेका भारतीय राजदूतको बिदाइ, निर्विवाद काम गरेको भन्दै प्रसंशा
आफ्नो कार्यकाल पूरा गरेर फिर्ता हुन लागेका नेपालका भारतीय राजदूत मञ्जिव सिंह पूरीलाई नेपालका विभिन्न नागरिक संस्थाले अभिनन्दन र बिदाइ गरेका छन । नेपाल-भारत महिलामैत्री समाज लगायत ६ वटा नागरिक संस्थाले आइतवार काठमाडौंको एक होटलमा राजदूत पूरीको बिदाइ अभिनन्दन गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष एवं प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले राजदूत पूरीले नेपाल भारत सम्बन्धलाई उचाइमा पुर्याउन अतुलनीय योगदान गरेको बताइन् ।
‘राजदूत पूरीको कार्यकालमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास र नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन भयो । अलपत्र परेको आयोजनालाई अगाडि बढाउन उहाँले दिनरात नभनी काम गर्नुभयो,’सांसद चौधरीले भनिन् ।
राजदूत पूरीकै कार्यकालमा भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीले दुईपटक नेपाल भ्रमण गरेको पनि उनले स्मरण गरिन्। नेपाल-भारत महिलामैत्री संघकी अध्यक्ष चौधरीले नेपाल भारत सम्बन्धमा कसैले दरार उत्पन्न गर्न नसक्ने बताइन् ।
‘नेपाल-भारत सम्बन्ध प्राकृतिक हो, नदी–नालाको हो, सादी बिवाहको हो, धर्म संस्कृति र बेटी रोटीको हो’ उनले अगाडि थपिन्, ‘नेपाल भारत सम्बन्धमा कसैले दरार उत्पन्न गर्न सक्दैन ।’
कार्यक्रमका अन्य वक्ताहरुले नेपालमा रहँदा पूरीले विवादरहित काम गरेको भन्दै प्रसंशा गरे । विभिन्न संस्थाले राजदूत पूरीलाई सम्मानपत्र र दोसल्ला ओडाएर बिदाइ गरेका थिए ।
नेपालबाट बिदाइ भएर फर्किन लागेका राजदूत पूरीले नेपाल-भारत सम्बन्धमा योगदान गर्न पाएकोमा खुुसी व्यक्ति गरे । सन् २०१७ मार्च २६ तारिखमा ओहोदाको प्रमाणपत्र बुझाएर काम शुरु गरेका पूरी नेपालमा राजदूत रहेकै समयमा अवकास पाएका छन् ।
बलात्कारको आरोप लागेका सिद्धबाबा ३ लाख धरौटीमा रिहा
बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट सोमवार महिला अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबा रिहा भएका जिल्ला अदालत सुनसरीका सहायक जिल्ला न्यायाधीवक्ता अनिल रेग्मीले बताए ।
सिद्धबाबालाई बलात्कारका आरोपमा प्रहरीले मंसिर १६ गते नियन्त्रणमा लिएको थियो । सिद्धबाबाले आफूमाथि लागेको आरोप झूटा भएको दाबी गर्दै आएका छन् ।
एमसीसीबारे राष्ट्रिय सभामा नेकपा सांसदबीच मत बाझियो, सहयोग गुमाउनुहुन्न : डा. पौड्याल
अमेरिकी सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालको पूर्वाधार विकास गर्न लागेको सहयोग लिने/नलिने विषयमा नेकपाका सांसदबीच नै मत बाझिएको छ ।
सोमवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा सत्तापक्षकी सांसद डा. विमला पौड्याल राईले एमसीसीको सहयोग लिनुपर्ने बताइन् भने अर्का सांसद बलराम बास्कोटाले सहयोग लिने कि नलिने भन्ने विषयमा जटिलता उत्पन्न भएको बताएका हुन् ।
सांसद पौडेलले पूर्वाधार विकासका लागि आउन लागेको वैदेशिक सहायता रोक्न नहुने बताइन् । नेपालले धेरै लामो प्रक्रिया पूरा गरेर यो चरणसम्म आइपुगेको भन्दै उनले एमसीसीमार्फत पूर्वाधार विकासमा आउने सहयोग लिनुपर्ने बताइन् ।
एमएमसी अल्पविकसित देशमा सहयोग गर्ने, गरीबी घटाउने र सुशासन वृद्धि गर्ने यूएसएड जस्तै फण्ड भएकाले यो लिन हिच्किचाउनु नपर्ने उनले बताइन् ।
उखुको बक्यौता नतिर्ने चिनी मिललाई कारवाही गर्न गृहलाई कृषि मन्त्रालयको पत्र
उखु किसानको बक्यौता रकम नतिर्ने चिनी मिललाई कारवाही अगाडि बढाउन आग्रह गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
किसानको पैसा नतिर्ने चिनी मिललाई कारवाही गर्न आग्रह गर्दै कृषि मन्त्रालयले गृहलाई सोमवारै पत्राचार गर्न लागेको हो ।
कृषिमन्त्री घनश्याम भुसालको निर्देशनमा मन्त्रालयले गृहलाई पत्राचार गर्न लागेको मन्त्रीका स्वकीय सचिव ज्ञानु भण्डारीले लोकान्तरलाई जानकारी दिए । उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै उखु किसान काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।
२०७५ असोजमा कृषि, उद्योग र गृह मन्त्रालय तथा चिनी मिल सञ्चालकबीच भएको सहमति कार्यान्वयन नगरेको भन्दै कृषिले सहमति कार्यान्वयन नगर्ने उखु मिललाई कारवाही गर्न आग्रह गर्दै गृहलाई पत्र पठाउन लागेको हो । ‘५ दिनभित्र बक्यौता तिर्ने सहमतिलाई चिनी मिलले विभिन्न बहानामा कार्यान्वयन नगरेका कारण कारवाहीको लागि गृहलाई आग्रह गर्न लागेका हौं,’ मन्त्रालयका एक अधिकारीले लोकान्तरसँग भने ।
भुक्तानीको विषय कृषि मन्त्रालयभन्दा उद्योग मन्त्रालयको क्षेत्राधिकार बढी भएको भन्दै कृषिले उद्योग मन्त्रालयलाई पनि ताकेता गरेको छ । मन्त्री भुसाल स्वयं उद्योग मन्त्रालयमा गएर छलफल गरिरहेका छन् ।
सोमवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा पनि विभिन्न दलका सांसदले उखु किसानका माग सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । नेकपाका बलराम बास्कोटा, राजपाका वृषेशचन्द्र लाल र समाजवादी पार्टीका रामप्रित पासवानले उखु किसानका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
विप्लव समूहका तीन कार्यकर्ता पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाईं भन्ने नरेश चौलागाईं, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागार्इं समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।
प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले आज जानकारी दिए । उनीहरूलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरिएको उनले बताए।