१० साउन २०८३, आइतबार

सभामुखको उम्मेदवार टुंगो लगाउन ओली–प्रचण्डबीच छलफल

सभामुखको उम्मेदवार टुंगो लगाउन ओली–प्रचण्डबीच छलफल
फाइल फोटो

प्रतिनिधि सभाको सभामुखका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलवार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुखको उम्मेदवार छान्नेबारे छलफल भएको हो । 

नेकपा स्रोतका अनुसार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र पूर्वसुभामुख सुवास नेम्वाङमध्ये एक जनालाई सभामुख बनाउनेगरी छलफल भइरहेको छ । 

यसअघि पूर्व माओवादी खेमाका अग्निप्रसाद सापकोटाको विषयमा पनि चर्चा थियो ।

‘नेम्वाङ या तुम्बाहाम्फेमध्ये एकजना सभामुखको उम्मेदवार बन्ने निश्चित प्रायः छ, पछिल्लो समय तुम्बाहाम्फेको सम्भावना झन बढेको छ,’ नेकपा स्रोतले भन्यो । 

नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा पुस ११ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको थियो । 

नेकपाले उम्मेदवारको टुंगो लगाएमा भोलि बस्ने प्रतिनिधि सभा बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ ।

अध्यक्षद्वयबीच उपसभामुखको उम्मेदवारको बारेमा समेत केही समयदेखि छलफल चलिरहेको स्रोतले लोकान्तरसँग भन्यो ।

सभामुखको उम्मेदवारको टुंगो लागेपछि मात्र उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने बताएकी छन् । उनी नै सभामुखको उम्मेदवार बन्ने अवस्थामा पनि राजीनामा दिनुपर्छ । 

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ । महरा अहिले डिल्लीबजार कारागारमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्