
पाल्पाको रामपुर नगरपालिकाको नयाँ भवन निर्माण कार्य विसं २०७७ असोज भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भवनको रु पाँच करोड चार लाख ६६ हजार ७४५ को लागत रहेको र हालसम्मको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत सम्पन्न भएको नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिए ।
हालको सञ्चालन भइरहेको तीन तलाको भवनबाट सेवा प्रवाहमा समस्या परेपछि नगरपालिका आडैमा रहेको मालपोत तथा नापी कार्यालयको भवनबाट पनि सेवा दिइँदै आइएको छ ।
“चार तलाको नयाँ भवन निर्माण कार्य तीव्ररूपमा भइरहेको छ, नयाँ भवन सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुनेछ, तोकिएकै समयमा निर्माण कार्य सक्ने गरी कामलाई अगाडि बढाएका छौँ”, सूचना अधिकारी पाण्डेयले भने ।
विसं २०६८ को जनगणनाअनुसार कूल घरधुरी आठ हजार १३२, जनसङ्ख्या ३५ हजार ३९६ रहेको छ । साविकका गाडाकोट, दर्छा, रामपुर, खालिवन र गेझा गाविस समेटिएर रामपुर नगरपालिका बनेको हो ।
पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुर नगरपालिकालाई कालीगण्डकी बेँसीकै व्यापार व्यवसाय गर्ने उपत्यकाको रूपमा लिइन्छ ।