
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोटनको घटनामा छानबिनको नाममा प्रहरीले ‘निर्दोष’ व्यक्तिलाई पक्राउ गरेर दुःख र यातना दिने काम गरिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सांसदले आरोप लगाएका छन् ।
प्रदेशसभा बैठकमै नेकपाका सांसदद्वय शत्रुघन महतो र रामचन्द्र मण्डलले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् । महतोकै निर्वाचन क्षेत्रमा विस्फोटको घटना भएको थियो ।
गत मंसिर २७ गते राति स्थानीय राजेश साहको घरमा ‘टाइमर’ जडान भएको प्रेसर कुकर बम विस्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो । घटनामा ४ जना घाइते भएका थिए ।
‘घटना अत्यन्तै अमानवीय हो, त्यसको निष्पक्ष तरिकाले छानबिन हुनुपर्छ,’ सांसद महतोले संसदमा सम्बोधन गर्दै भने, ‘मिडियामा आएका समाचार अनुसार प्रहरीले घटना विप्लव समूहले गराएको भन्ने बुझिएको छ तर घटना कुनै पनि हिसाबले विप्लव समूहको क्रान्ति गर्ने कामलाई बल पुर्याएको छैन । त्यो अमानवीय आपराधिक घटना नै हो तर विप्लव समूहकै नाममा निर्दोष मानिसहरूलाई समेत जथाभावी पक्राउ गरेर प्रहरीले दुःख दिने काम बन्द गर्नुपर्छ ।’
महतो विगतमा नेकपा एमालेमा आवद्ध भएर राजनीति गर्दै आएका हुन् । हाल उनी नेकपाबाट प्रत्यक्ष प्रदेश सभामा निर्वाचित भएका छन् ।
साविक नेकपा माओवादीमा आवद्ध भई राजनीति गर्दै आएर प्रदेश सभामा प्रत्यक्ष निर्वाचित नेकपाका सांसद रामचन्द्र मण्डलले प्रहरीको छानबिन प्रक्रियामाथि प्रश्न उठाएका छन् । ‘७७ जना मानिसलाई छानबिनको नाममा जथाभावी मनपरी गर्दै पक्राउ गरेको छ,’ मण्डलले प्रदेश सभामा भने, ‘विगतमा हाम्रै माओवादी पार्टीमा आवद्ध भएका कार्यकर्तालाई विप्लव समूहमा आबद्ध रहेको भन्दै निर्दोष मानिसलाई पक्राउ गरेका छन् ।’ पक्राउ गरेका व्यक्तिमध्ये अधिकांशको उमेर ५० वर्षभन्दा माथि नै रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटना अनुसन्धानबारे केही सार्वजनिक गरेको छैन । २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकारी सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीको संयोजकत्वमा १४ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
‘हालसम्म ५ जना शंकास्पदलाई हिरासतमा राखेका छौं,’ डीएसपी कार्कीले लोकान्तरलाई भने, ‘बाँकी थप १० जना जति संलग्न हुन सक्ने व्यक्ति अझै पनि फरार नै छन् ।’ फरारको खोजी कार्य तीब्र रहेको उनले बताए ।
‘अनुसन्धानको लागि हिरासतमा रहेकाबाहेक १० जना जतिलाई मात्र सोधपुछ गर्नका लागि ल्याएका थियौं,’ डीएसपी कार्कीले भने, ‘तर उनीहरूको कुनै पनि संलग्नता नदेखेपछि छोडेका पनि छौं । ७७ जनाको नाम भनेर सांसदज्यूले पनि जनतामा भ्रम छर्नु भएन ।’
‘भात समेत नखाएर प्रहरी घटनाको अनुसन्धानमा लागिपरेको छ, धेरै प्रमाणहरू संकलन भइसकेका छन्,’ डीएसपी कार्कीले भने, ‘केही दिनमै घटनाबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने छ ।’ पक्राउ परेका ५ जनाको नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
पक्राउ परेका ५ जनामध्ये केही विप्लव समूहमा आवद्ध छन् भने केही आवद्ध छैनन् तर बाँकी फरार रहेका व्यक्तिमध्ये अधिकांश विप्लव समूहमै आवद्ध रहेको बुझिएको उनले बताए ।
घाइते भएका प्रहरी जवान काठमाडौंको शिक्षण अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । ‘उनको खुट्टामा समस्या त छ तर सकेसम्म उनको खुट्टा जोगाउन सकिन्छ कि भन्नेतर्फ गृहमन्त्रीज्यूले विचार गरेको हुनसक्छ,’ डीएसपी कार्कीले भने, ‘तर वास्तविकता के हो भन्ने विषयमा आफूहरूलाई कुनै पनि जानकारी छैन ।’
घाइते प्रहरी जवान अस्पतालबाट डिस्चार्ज भएर घर गएको तथा जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा नआएकाले थप भन्न नसकिने उनले बताए । मृतक राजेशका १ छोरा र १ छोरीको काठमाडौंमै उपचार जारी रहेको उनले बताए ।