
कर्णाली पर्यटनको आधार स्तम्भको रूपमा लिइने कर्णाली प्रदेशस्थित सुर्खेत विमानस्थल बन्द हुने स्थितिमा पुगेको छ । सडक डिभिजन कार्यालय सुर्खेतले सडकको ९ मिटर जग्गा खाली गर्न लगाएपछि विमानको रनवे सानो हुने भएको हो ।
सानो रनवेमा विमान टेक अफ र गर्न नसक्ने भएकाले विमानस्थल नै बन्द गर्नुपर्ने स्थिति आउन लागेको सुर्खेत नागरिक उड्ययन प्राधिकरणका प्रबन्धक उमेश कुमार पन्थीले बताएका छन् ।
‘हामीलाई सडक डिभिजन कार्यालयले जग्गा खाली गर्न पत्र पठाइरहेको छ,’ पन्थीले भने, ‘यदि उक्त जग्गा खाली गरेको खण्डमा विमान बस्नसक्ने अवस्था छैन । ठूला जहाज ल्याउँदा विमानस्थल वरिपरि हाल बनाइएका संरचनाले पनि समस्या पार्ने देखिएको छ । यसका लागि सम्बन्धित पक्षले विचार पुर्याउनुपर्छ ।’
पन्थीले सुर्खेतमा तीन महिनाभित्रै एटीआर ७२ उडाउन सकिने भएपनि त्यसको अध्ययन नहुँदा अलपत्र परेको गुनासो गरे ।
अहिले सुर्खेतदेखि काठमाडौंका लागि एक मात्र ४७ सिटे बुद्ध एअरको जहाजले अवतरण र उडान भर्दै आएको छ । ‘सुर्खेतमा हाल घाम लाग्दासम्म मात्र विमान उडाउन र अवतरण गर्न सकिन्छ,’ पन्थीले भने, ‘त्यसमा थोरै खर्च गर्न सकेदेखि राति पनि चल्ने बनाउन सकिन्थ्यो ।’
पन्थीले सुर्खेतको पर्यटन प्रवर्द्धनका लागि विमानस्थल अनिवार्य रहेको बताए । सडक डिभिजन कार्यालयले निरन्तर पत्र पठाएर जग्गा खाली गर्न लगाउनु ठीक नभएको उनले बताए ।