
काठमाडौं, ३० चैत — कोरियाली प्रायद्वीपमा अमेरिकाले क्षेप्यास्त्रबाट मार हान्ने कार्ल भिन्सन स्ट्रइक ग्रुप तैनाथ गरेपछि उक्त क्षेत्रमा तनाव बढेको छ । 
मंगलवार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका बारेमा ट्विटरमा चर्चा गरे ।
‘मैले चिनियाँ राष्ट्रपतिलाई उत्तर कोरियाको समस्या समाधान गर्नुभयो भने अमेरिकासँगको व्यापार सम्झौता झन् राम्रो हुने कुरा बुझाइदिएको छु,’ ट्रम्पले ट्वीटमा लेखे ।
लगत्तै अर्को ट्वीट गरेर उनले लेखे, ‘उत्तर कोरिया निहुँ खोजिरहेको छ । चीनले सहयोग गर्ने निर्णय गरे गजब हुन्छ । गरेन भने पनि हामी उनीहरूलाई नसोधी आफैं समाधान गर्छौं ।’
उत्तर कोरियालाई आणविक हतियार कार्यक्रम बन्द गर्न लगाउनु गाह्रो काम भएकाले आर या पार युद्धको सम्भावना बढेको विश्लेषकहरू बताउँछन् ।
एजेन्सी