१५ असार २०८३, सोमबार

टिपरले ‘टाइम कार्ड’ पालना नगर्दा दुर्घटना बढ्यो

पुस १७, २०७६
टिपरले  ‘टाइम कार्ड’ पालना नगर्दा दुर्घटना बढ्यो

१७ असोज, ०७५ को साँझ भक्तपुर सूर्यविनायकको पाण्डुबजार चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे नमोबुद्ध नगरपालिका–८ का २५ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भयो । ‘टाइम कार्ड’ मिचेर गुडेको भन्दै स्थानीयले सडकमै बा.४ख ६६५० नम्बरको टिपर जलाए । ढुंगामुढा प्रहार र प्रदर्शन पनि गरे । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस नै हान्नुप¥यो । घन्टौँसम्म सवारीसाधन अवरुद्ध भयो ।

१३ पुस, ०७५ को बिहान ६ बजे बालाजु बाइपासमा चिया बेच्दै गरेका दलबहादुर बिशुंखेलाई माटो बोकेको ना.७ख ७००५ नम्बरको टिपरले ठक्कर दियो । गम्भीर घाइते भएका दलबहादुरले त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । यस्तै, ८ फागुनको दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिका–९ ब्रह्मायणीमा बा.५ख ७७४७ नम्बरको टिपरले मोटरसाइकलचालक कञ्चनपुरका २९ वर्षीय विष्णुराज पन्तको ज्यान लियो । 

४ वैशाख, ०७६ को बिहान ११ः३० बजे बनेपाबाट काठमाडौं आइरहेको बस र बा.४ख ४८१५ नम्बरको टिपर सूर्यविनायक चोकनजिकै आपसमा ठोक्किए । गम्भीर घाइते बसका यात्रु सूर्यविनायक–५ का २९ वर्षीय रमेश भण्डारीले मेडिसिटी अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाए । 

३ असार बिहान ११ः५५ बजे भक्तपुरको सूर्यविनायक–१०, नलिन्चोकमा टिपरले मोटर साइकललाई ठक्कर दियो । दुर्घटनामा काभ्रेका ४० वर्षीय पदम श्रेष्ठले ज्यान गुमाए ।
२७ कात्तिक बिहान ७ः३० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–९, बाँसघारीमा प्रदेश ३–०१–००३ क ४९३५ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दियो । दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रेका सुमन तिमिल्सिनाको मृत्यु भयो ।

२६ असार, ०७५ मा जडीबुटीमा टिपरको ठक्करबाट झापा घर भई दूधपाटी बस्ने रोयल सुवेदीको मृत्यु भयो । अघिल्लो महिना पनि त्यही ठाउँमा टिपरको ठक्करबाट स्कुटरमा सवार अस्मिता राजभण्डारीको ज्यान गएको थियो । असार महिनामा मात्रै उपत्यकामा भएका एक सय आठ दुर्घटनामध्ये ४० दुर्घटना टिपरकै कारण भएका थिए, ती दुर्घटनामा एक महिनामा १९ जनाले ज्यान गुमाएका थिए । 

यी दुर्घटना ‘टाइम कार्ड’ मिचेर गुडेका टिपरका कारण भएका उदाहरण मात्रै हुन् । पछिल्ला वर्ष काठमाडौं, भक्तपुर र ललितपुरमा टिपरका करण हुने दुर्घटनाको दर मात्रै बढेको छैन, सर्वसाधारणमा आतंकसमेत फैलिएको छ । सडकमा हुइँकिएका टिपर देख्नेबित्तिकै साना चारपांग्रे सवारीसाधन, मोटरसाइकल र स्कुटीचालक किनारा लगेर टिपरलाई बाटो छाड्न उद्यत् हुन्छन् । पैदलयात्रु समेत टिपर देख्नासाथै सडक किनारामा खडा हुन्छन् । 

यही तथ्यलाई टेकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई १ साउनबाट दिउँसो टिपर सञ्चालनमा रोक लगाउन निर्देशन दिए । गृहको सूचनाअनुसार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर सञ्चालन गर्न नपाइने थियो । तर, दुर्घटना न्यूनीकरण गर्न गृह मन्त्रालयले लगाएको ‘टाइम कार्ड’ र ‘लेफ्ट र राइट’ लेनको अवधारणा टिपर चालकले टेरेनन् । बरु, यातायात व्यवस्था विभागले ५ मंसिर, ०७६ मा पुनः सूचना निकाल्यो, र ‘टाइम कार्ड’ लागू भएको जानकारी दियो ।  

यातायात व्यवस्था विभागले अरनिको राजमार्गमा बेलुकी ८ बजेअघि काभ्रेको धुलिखेलबाटै टिपर प्रवेशमा रोक लगाएको छ । तर, दिउँसो दुई नबज्दै गिट्टी, ढुंगा र बालुवा बोकेका टिपर भक्तपुरको सिर्जनानगर आइपुग्छन् । साँझसम्म राजमार्गको सल्लाघारी र जगातीमा सयौँको संख्यामा टिपर लाम लागेका हुन्छन् । ‘टाइम कार्ड’ लगाए पनि काठमाडौंको कीर्तिपुर, बसपार्क, माछापोखरी, बौद्ध र थानकोट तथा ललितपुरको चापागाउँमा पनि टिपरहरू दिउँसै आइपुग्छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कुमारविक्रम थापाले साँघुरा सडकमा टिपरहरू दिउँसै लाम लाग्दा दुर्घटनाको जोखिम बढेको बताए । टिपर व्यवसायी भने दिउँसो पनि टिपर कुदाउनुपर्ने माग गर्दै आएका छन् ।

बागमती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामा भन्छन्, ‘सरकारले टाइम कार्डका नाममा ‘ठूलालाई चैन, र सानालाई ऐन’ को अवस्था बनाएको छ, अब कि सबैले टिपर चलाउन पाउनुपर्छ, कि कसैले चलाउन पाउँदैन ।’ उनले पैसा हुनेले कर्मचारीलाई घुस खुवाएर आयोजनाका नाममा पास लिने र दिउँसै टिपर चलाउने गरेका आरोप लगाए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्रक÷टिपरका कारण उपत्यकामा पछिल्ला तीन वर्षमा एक सय ५९ जनाको मृत्यु भएको छ । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्