२४ जेठ २०८३, आइतबार

सरकारको लिखित प्रतिबद्धता नआएसम्म उखु किसान घर नफर्किने

पुस १७, २०७६
सरकारको लिखित प्रतिबद्धता नआएसम्म उखु किसान घर नफर्किने

चिनी मिलहरूले दिनुपर्ने भुक्तानी तोकिएको मितिमा उपलब्ध गराउने सरकारी प्रतिबद्धता लिखितरूपमा नआएसम्म उखु किसानहरूले आन्दोलन नरोक्ने भएका छन् ।

आन्दोलनका लागि सर्लाहीबाट काठमाडौं आएको उखु किसान संघर्ष समितिले बुधवारको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेको प्रतिबद्धता सकारात्मक भएपनि सरकारका तर्फबाट लिखित प्रतिबद्धता आउनुपर्ने माग गरेको हो ।

‘हिजो उद्योग मन्त्री लेखराज भट्टसँग भएको वार्ता सकरात्मक थियो । समयसीमा तोकिएको लिखित सहमति आउनुपर्‍यो भन्ने हाम्रो माग छ,’ उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले लोकान्तरसँग भने ।
मन्त्री भट्टको प्रतिबद्धता लिखितरूपमा आएमा आन्दोलन रोकेर घर फर्कने तयारीमा उखु किसानहरू छन् । ‘मुख्य कुरा उखु किसानले पाउनुपर्ने रकम पाउनुपर्छ भन्ने हो, सरकारले ग्यारेन्टी लिन्छ भने त हामीलाई भैहाल्यो नि !’ मिश्रले थपे ।

सरकारसँग लिखित सहमति भएमा तोकिएको दिनसम्म आन्दोलन स्थगित गर्न सक्ने मिश्रको भनाइ छ । तोकिएको समयसीमामा भुक्तानी उपलब्ध नभए फेरि आन्दोलन शुरू गर्ने उनले बताए ।

उखु मिलबाट पाउनुपर्ने भुक्तानी तत्काल पाउनुपर्ने मागसहित काठमाडौं आएका सर्लाहीका उखु किसानले झण्डै २ सातादेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् ।

हिजो बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसमक्ष किसानहरूले आफ्ना ११ बुँदे माग राखी वार्ता गरेका थिए ।

मन्त्री भट्टले किसानहरूको बक्यौता भुक्तानीको माग तत्काल सम्बोधन गर्ने र बाँकी मागहरूलाई निश्चित समयभित्र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्