
हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौं तर सन् २०१९ मा इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्वीर सार्वजनिक भएको थियो । यसलाई सन् २०१९ को ठूलो एवं महत्त्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ ।
ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्वीर विश्वका आठ वटा टेलिस्कोपको नेटवर्कबाट खिचिएको थियो । सोबारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार छापिएको थियो ।
नेदरल्यान्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसो अनुसन्धानको प्रस्ताव गरेका थिए । उनले भनेका थिए ‘हामीले जे देख्यौं त्यो हाम्रो पूरै सौर्यमण्डलभन्दा ठूलो छ ।'
ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वार्कषण क्षेत्र हो जहाँ अत्याधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन ।
वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ र त्यसलाई ‘इभेन्ट होराइजन’ भनिन्छ । यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’को संज्ञा दिएको छ ।