
प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले सरुवा भएको स्थानमा हाजिर हुन अस्वीकार गरेर प्रहरी संगठनमा अनुशासनहीनताको उदाहरण पेश गरेका छन् ।
उनलाई प्रहरी प्रधान कार्यलयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको थियो, तर उनले उक्त कुरालाई नटेरेका हुन् ।
प्रहरी प्रधान कार्यलयले पुस ४ गते पत्र संख्या ०७६/०७७ चलानी नम्बर २८९० को पत्रको ७औं नम्बरमा कम्प्युटर नम्बर ३३२९४ रही जिल्ला प्रहरी कार्यलय चितवनमा कार्यरत एसपी मल्ललाई महानगरीय विमास्थल सुरक्षा प्रहरी कार्यलय, गौचरणमा सरुवा गरेको थियो ।
जिल्ला प्रहरी कार्यलय चितवनमा भने प्रहरी उपरीक्षक गंगा पन्तलाई ल्याइएको छ ।
प्रहरीमा सरुवा भएको ७२ घण्टा वा केही काम परेको खण्डमा बढीमा ५ दिनसम्म कार्यलयमा बस्न सक्ने परम्परा छ, तर उनले १५ दिन बितिसक्दा पनि चितवनबाट कतै नजाने भन्दै संगठनको नियम उल्लंघन गरिरहेका छन् ।
मल्लको यस्तो कदमले संगठनको खिल्ली उडाएको प्रहरीका एक उच्च अधिकारी बताउँछन् ।
‘यो त सरासर गलत हो, फौजी संगठनमा बसेर संगठनको नियम मान्दिनँ भन्नु त खिल्ली उडाएको भएन् र ? यसले अरूलाई के सन्देश दिन्छ ? त्यो पनि अधिकृत तहको प्रहरीले,’ ती अधिकारीले लोकान्तरसँग भने ।
दानबहादुर मल्ल चितवनमा भीआईपीको सुरक्षा महत्त्वपूर्ण भएको भन्दै प्रहरी संगठनले गरेको सरुवालाई लत्याएर त्यहीँ बसिरहेका छन् । उनलाई ३ नम्बर प्रदेश प्रहरी कार्यलय हेटौंडाले बिहीवार (पुस १७ गते) १२ घण्टाभित्र जिल्ला छाड्न आदेश दिएको थियो, तर अहिलेसम्म उनले चितवन छाडेका छैनन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूर्वपीएसओ समेत रहेका मल्ललाई चितवनमा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको पूर्ण सर्मथन रहेकाले उनले शक्तिको आडमा चितवन छाड्न नमानेको प्रहरीका उच्च अधिकारीहरूको बुझाइ छ ।
‘उहाँ प्रहरीको एसपी हो, आफैं एउटा जिल्लाको कमाण्ड समाल्दैहुनुहन्छ, उहाँले नै नियम नमानेपछि अरूले के गर्लान् ? पावर छ भन्दैमा प्रहरीको नियम कानून नमान्ने भन्ने त हाइन नि,’ प्रहरी अधिकारीले भने ।
किन लिँदैनन् आईजीपीले एक्सन ?
संगठनको नियमलाई नमान्ने प्रहरी कर्मचारीमाथि प्रहरी महानिरीक्षक सवेन्द्र खनालले किन एक्सन लिन सकेका छैनन् ? यो प्रश्न सुनिने थालेको छ ।
प्रहरी प्रधान कार्यालयले मल्ललाई सरुवा गरेको छ । यस्तो अवस्था रमाना प्रक्रिया मिलाएर मल्लले रमाना लिइसक्नुपथ्र्यो, तर रमाना नलिएपछि ३ नम्बर प्रदेश प्रहरी कार्यलयले एक्सन लिएको हो ।
यति गर्दा पनि नमानेकाले आज (शुक्रवार) प्रदेश प्रहरी कार्यलयले फेरि केही एक्सन लिने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले बताए ।
प्रवक्ता क्षेत्रीले भने– ‘प्रदेश प्रहरी कार्यालयले आज एक्सन लिँदैछ, यति गर्दा पनि उहाँले मान्नुभएन भने प्रधान कार्यालयले हस्तक्षेप गर्छ ।’
राजतीतिक शक्तिको आडमा मल्लको दम्भ
प्रहरी स्रोतका अनुसार मल्ललाई प्रचण्डको अग्रहमा चितवनमा पठाइएको थियो । भरतपुर महानगरपालिकामा मेयरको रूपमा प्रचण्डकै छोरी रेणु दाहाल रहेकाले सहायता हुने भएकाले मल्ललाई चितवन पठाइएको प्रहरी अधिकारीहरूको बुझाइ छ ।
राजतीतिक शक्तिको आडमा मल्लले दम्भ देखाएका छन् ।