
वेलकम एड्भरटाईजिङ प्रालि र एडस्टार्टर प्रालिले हालसालै रणनीतिक साझेदारी कायम गर्ने उद्देश्यसहित एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाली सञ्चारमाध्यममा विज्ञापन बुकिङ/संकलक र प्रसारण/प्रकाशन गर्ने विषय सम्बन्धी सम्झौता पत्रमा वेलकम एड्भरटाईजिङका अध्यक्ष निर्मलराज पौडेल र एडस्टार्टर प्रालिका नेपालस्थित कार्यालय प्रबन्ध निर्देशक निरन्जन खनालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार एडस्टार्टरले आफ्नो वेबसाइटमार्फत नेपाल र विदेशमा बस्ने दुवै किसिमका विज्ञापन दाताबाट दिइएको विज्ञापन बुकिङ/संकलन गर्नेछ । यसैगरी वेलकमले यस्ता संकलित विज्ञापनलाई नेपालको छापा, टेलिभिजन र रेडियो/एफएममा प्रकाशन/प्रसारण गर्नेछ ।
‘नेपाली बजारमा आफ्नो विज्ञापन गर्न चाहने व्यक्ति, कम्पनी र विज्ञापन एजेन्सीले लामो समयदेखि विभिन्न भौगोलिक, ऐतिहासिक र अन्य कठिनाइ सामना गर्नुपरेको छ । यस्ता समस्यालाई निराकरण गरी विज्ञापनदातालाई आफ्नो विज्ञापन लगानीको उत्कृष्ट प्रतिफल दिलाउने हेतुले हामीले एडस्टार्टरसँग रणनीतिक साझेदारी गरेका हौं,’ वेलकमका अध्यक्ष पौडेलले भने, ‘अब विश्वभर छरिएर रहेका विज्ञापनदाताले प्रत्यक्ष रुपमा नेपाली सञ्चारमाध्यममा आफ्नो विज्ञापन प्रकाशन/प्रसारण गर्न सक्नेछन् । त्यसैले साझेदारीले विगत केही समयदेखि निरन्तर खस्किरहेको नेपाली विज्ञापन बजारलाई विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।'
यसैगरी एडस्टार्टरका खनाल हालै गरिएको सम्झौताले नेपाल र विदेशमा बस्ने विज्ञापनदाता र नेपाली सञ्चारमाध्यमबीच प्रत्यक्ष अन्तर्क्रिया गराई दुवै पक्षलाई व्यावसायिक लाभ प्राप्त गर्न सहयोग पुग्ने बताउँछन् ।