
नेपाल भ्रमण वर्ष २०२० भर देशभरका सम्पदा सफाइ गर्न जनचेतना जगाउने उद्देश्यले सम्पदा पैदल यात्रा जारी राखिने भएको छ ।
वाग्मती सफाइ महाअभियानलगायत उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथ उत्तर र पश्चिम खण्ड, मनोहरा, गोदावरी खोलालगायत सफाइ अभियानका अभियानकर्मीको शुक्रवारको विशेष भेलाले यस्तो निर्णय गरेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा पुस १२ गते शनिवार बिहान विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रबाट वसन्तपुरसम्म पैदलयात्रा गरी यो अभियान शुरू भएको हो ।
शुरूमा १ महिनाका लागि घोषणा गरिएको अभियानमा जनसहभागिता जुट्नुका साथै वर्षभर गर्नुपर्ने माग आएपछि शुक्रवार बसेको अभियानकर्मीको बैठकले यात्रा जारी राख्ने निर्णय गरेको हो ।
भेलाले वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीलाई १ वर्षे सम्पदा पैदल यात्राको संयोजक पदमा सर्वसम्मतिले चयन गरेको छ । यात्रालाई संस्थागत स्वरुप दिई सम्पदा संरक्षण एवं सफाइमा केन्द्रित गर्ने सोच पनि शुक्रवारको बैठकले अघि सारेको छ ।
पुस १९ गते शनिवार विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुरबाट विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्रसम्म सम्पदा पैदल यात्रा गरिने अभियानकर्मी माला खरेलले बताए ।
यो हप्ताको पैदल यात्रामा कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसँगै आविष्कार केन्द्रका अध्यक्ष एवं म्यागासेसे पुरस्कार विजेता महावीर पुनलगायत अभियानकर्मी सहभागी हुनेछन् । पैदल यात्रासँगै वसन्तपुर दरबार क्षेत्र र वयम्भू क्षेत्रमा पनि विशेष सफाइ अभियानसहित जनजागरण अभियान चलाइने जनाइएको छ ।
पुस २६ गते विश्व सम्पदा सूचीमा सूचिकृत पाटन दरबार क्षेत्र र माघ ४ गते शनिबार भक्तपुर दरबार क्षेत्रका सम्पदामा सम्पदा पदयात्रासहित सफाइ गरिने संयोजक शाहीले सुनाए । बाँकी कार्यक्रम भने पछि तय गरिने जनाइएको छ ।