
दाङ जिल्लाको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरू भएको छ ।
घोराही उपमहानगरपालिकाले बजारका ३ स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरू गरेकोे हो ।
घोराही बजारको कुटवालखोलादेखि रतनपुरचोक, नेपाल बैंक लिमिटेडदेखि शहीदगेट र तुलसीपुर चोकदेखि दामोदर चोकसम्मको सडकको बीच भागमा ७१ वटा विद्युतीय सडक बत्ती जडानको काम शुरू गरिए को छ ।
उपमहानगरले सडक बत्ती जडानको जिम्मा एपेक्स नेपाललाई दिएको छ । विज्ञापन सामग्री राख्ने गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच विद्युतीय सडक खम्बा बत्तीसहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको छ ।
एपेक्स नेपालले २ करोडको लगानीमा विज्ञापन सामग्री राख्ने गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण गर्ने बताएको छ । एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले पहिलो चरणअन्तर्गत विद्युतीय सडक बत्ती जडानको काम शुरू गरिएको बताए ।
‘पहिलो चरणअन्तर्गत ७१ वटा खम्बामध्ये ५० वटा खम्बा जडान भइसकेका छन्,’ उनले भने, ‘२ दिनभित्रै बाँकी खम्बा जडानको काम सम्पन्न गर्छौं ।’
जडान गरिएका विद्युतीय खम्बा अटोमेटिक रहेकोे उनले बताए । कम्पनीले सम्झौताअनुरुप दोस्रो चरणअन्तर्गत घोराहीको विभिन्न स्थानमा गरी १५ यात्रु प्रतीक्षालय र ५ ठाउँमा ट्राफिक आइल्याण्ड निर्माण गर्नेछ ।