
दक्षिण एसियाकै लामो मानिएको महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुलको मर्मतको गरिएको छ ।
भीमदत्त नगरपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारले खाम्पाचेर देवभूमि कन्सट्रक्सन डडेल्धुरालाई ५० लाख रुपैयाँमा ठेक्का दिई जीर्ण झोलुङ्गे पुलको मर्मत कार्य पूरा गरिएको कन्स्ट्रक्सनका सञ्चालक डम्बरदत्त भट्टले बताए ।
उनका अनुसार पुलका २८८ वटा स्टिल डेक, ६० वटा आइबोल्ट र तारजाली फेरिएको छ । ‘पुलमा रहेका १२ वटा सेक्सनका नट बोल्ट फेर्नाका साथै सस्पेन्डरको मर्मत गरिएको छ । पुल जीर्ण बन्दै गएपछि ठाउँठाउँमा स्टिल डेकहरू टुटेका थिए । पुलमा लगाइएका नटबोल्ट खस्ँिकदा दुर्घटनाको सम्भावना बढ्दै गएको थियो ।
पुल मर्मत भएपछि सहज रुपमा आवतजावत गर्न सहज भएको चाँदनीका स्थानीयवासी रामबहादुर बुढाले बताए ।
मंसिर २१ गतेदेखि ठेकेदार कम्पनीले पुल मर्मतको कार्य शुरू गरेको थियो । डेढ दशकअघि निर्माण भएको पुल १ हजार ४५२ दशमलव ९९६ मिटर लम्बाइको रहेको छ ।
झोलुङ्गे पुल सदरमुकाम भीमदत्तनगर ओहोरदोहोर गर्ने महाकाली नगरपालिकाका वासिन्दाको नदी पार गर्ने एकमात्रै माध्यम रहेको छ । हाल महाकाली नदीमा पक्की पुल निर्माणको कार्य समेत शुरू गरिएको छ ।