जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै २ हजार बढी कामदार लैजाने तयारी गरेको छ ।
जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ ।
फाउन्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।
जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ ।
परीक्षा शुल्क २ हजार ५०० तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उर्तीण हुनुपर्नेछ । २५० अंकको परीक्षामा सहभागीले न्यूनतम् २०० अंक ल्याउनुपर्ने छ ।
परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचयत्र पेश गर्नुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ ।
फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गर्नेछ । गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो ।
पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए । नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गतवर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको थियो ।