
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको बताएका छन्।
‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका केही राजा महाराजाहरूले विदेशी शक्तिको अगाडि घुँडा टेके,’ शनिबार अन्नपूर्ण काठमाडौं समाजको साधारण सभाको उद्घाटन गर्दै प्रचण्डले भने, ‘त्यसैले गर्दा आफ्नो वीरताको ठाउँहरूको समेत चर्चा गर्न चाहेनन् ।’
अंग्रेज ब्रिटिस कर्नेलको नेतृत्वमा आएको करिब २४ सयको नेतृत्वलाई नेपाली हतियारकै माध्यमबाट ५०(६० जनाले घुँडा टेकाएका स्मरण गर्दै प्रचण्डले भने, ‘तर, त्यस्तो वीरताको शक्तिलाई समेत उनीहरूले लुकाउन खोजे।’ प्रचण्डले राजामहाराजाहरुले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले देश परिवर्तनका नायकहरूलाई कसरी दबाब दिन सकिन्छ भन्ने शक्ति सक्रिय भएर लागेको प्रष्टाए। त्यसबाट आफूहरू जोगिनुपर्ने उनको भनाइ थियो। उनले आफूले दुईपटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निमार्णको अभियानमा जुटको बताए।