०४ असार २०८३, बिहीबार

जसले नानी प्रत्यारोपण गरेर ज्योति पाए...

पुस २०, २०७६
जसले नानी प्रत्यारोपण गरेर ज्योति पाए...
तस्वीर सौजन्य : नयाँ पत्रिका

सिन्धुपाल्चोक हेलम्बुकी कुमारी लामा सात वर्षको हुँदा बायाँ आँखामा आनो आयो । उनका बुबाले आनो निचोरेर मल्हम लगाइदिए । दायाँ आँखामा पनि आनो सर्ने डरले मल्हम लगाइदिए । तर, त्यही मल्हम कुमारीका लागि अभिशाप बन्यो । दुवै आँखाको ज्योति गुम्यो । अभिभावकले कुमारीलाई अस्पताल लगेनन्, अन्धविश्वासका कारण केही समय धामी, झाँक्री र मन्दिर चहार्दै हिँडे । पछि तिलगंगा आँखा अस्पतालले उनको देब्रे आँखाको नानी प्रत्यारोपण गरेर ज्योति फर्काइदियो । 

२२ वर्षअघि कुमारीको देब्रे आँखामा ज्योति दिएको तिलगंगाले २ पुसमा दाहिने आँखामा पनि ज्योति फर्काइदिएको छ । ‘विगत सम्झिँदा पश्चाताप हुन्छ । कुन मल्हमले ज्योति गुम्यो सम्झना छैन,’ २८ वर्षीया कुमारीले भनिन्, ‘छिमेकीले आँखा ठीक पार्न धामीकहाँ जान सल्लाह दिए, फेरि छिमेकीले नै अस्पताल जाने सल्लाह पनि दिए । तिलगंगा आँखा अस्पतालले आँखाको ज्योति फर्काइदियो ।’

समाजशास्त्रमा स्नात्तकोत्तर गरेकी कुमारी लामा चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा अंग्रेजी विषय पढाउँछिन् 
देब्रे आँखाको शल्यक्रिया गरेपछि सामान्य देख्न थालेकी उनले अध्ययनलाई निरन्तरता दिएकी थिइन् । समाजशास्त्रमा स्नात्तकोत्तर गरेकी उनी चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकडेमीमा अंग्रेजी विषय पढाउँछिन् । अहिले दुवै आँखामा ज्योति फर्किएपछि उनी खुसी छिन् । ‘गुमेको ज्योति केही भए पनि फर्किएको छ, दाहिने आँखा पनि राम्रो हुने आशा छ,’ उनी भन्छिन् ।  

स्याङ्जाका सविन बोगटी जन्मजात दृष्टिविहीन थिए । उनको समस्या परिवारले तीन वर्षपछि मात्रै थाहा पायो । उपचारका लागि पोखरा लग्यो । उपचार सम्भव नभएपछि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज ल्यायो । तर, शिक्षण अस्पतालमा पनि उपचार सम्भव नभएपछि तिलगंगा आँखा अस्पतालमा उपचार भयो । डा. लिना बज्राचार्य र डा. रिता गुरुङले चार वर्षको फलोअपपछि शल्यक्रिया गर्न सुझाब दिए । तर, आँखा देख्ने–नदेख्ने सम्भावना बराबर हुने चिकित्सकले बताएका थिए । जन्मजात दृष्टिविहीन सबिनको उपचारमा जोखिम मोल्न परिवार राजी भयो । 

०६३ मा उनको दायाँ आँखाको शल्यक्रिया भयो । त्यसवेला सबिन ११ वर्षका थिए । ‘आँखाको नानी दानको विकास नेपालमा नहुँदो हो त म जीवनभर दृष्टिविहीन हुने थिएँ,’ उनी भन्छन्, ‘अहिले म राम्रोसँग सवारी साधन चलाउन सक्छु । दायाँ आँखा देख्न सक्ने भएपछि बायाँ आँखाको पनि शल्यक्रिया भयो, जतिवेला म १५ वर्षको थिएँ । अहिले दुवै आँखा राम्ररी देख्न सक्छु ।’ आँखाको शल्यक्रियापछि ११ वर्षको उमेरमा विद्यालय भर्ना भएका उनी हाल स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् ।

स्याङ्जाका विदुर लामिछाने काठमाडौंको धापासीमा बस्छन् । एसएलसी दिएपछि उनको आँखाको दृष्टि कमजोर हुन थाल्यो । आँखाको नानी चुचो हँुदै जाने समस्या देखिएपछि उनले नियमित ५ वर्ष चस्मा लगाए । चिकित्सकले आँखाको नानी फेर्नुपर्ने सल्लाह दिए । तिलगंगा अस्पतालमा विदुरको दुवै आँखाको नानी प्रत्यारोपण भयो । उनी भन्छन्, ‘अहिले राम्रो भएको छ, कुनै समस्या छैन ।’ विदुरले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन सकाएका छन् । 

यी प्रतिनिधिमूलक पात्र मात्रै हुन् । दृष्टिविहीन भएर आँखाको नानी प्रत्यारोपण गरी संसार देख्नेहरूको संख्या १५ हजार नाघिसकेको छ । 


जन्मजात दृष्टिविहीन सविन बोगटी आँखाको शल्यक्रियापछि ११ वर्षको उमेरमा विद्यालय भर्ना भए, हाल स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् 
 प्रतिवर्ष सात हजार नानी आवश्यक, १२ सय मात्रै उपलब्ध

तिलगंगा आँखा बैंकका अनुसार हरेक वर्ष सात हजार व्यक्तिको आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । तिलगंगा आँखा प्रतिष्ठानस्थित नेपाल आँखा बैंकका प्रबन्धक शंकर त्वायना प्रतिवर्ष न्यूनतम सात हजार आँखाको नानी आवश्यक पर्ने बताउँछन् ।

बैंकका अनुसार हरेक वर्ष १२ सयको संख्यामा मात्रै नानी प्राप्त हुने गरेको छ । चाडबाड र वर्षा (असार–साउन) को समयमा प्रत्यारोपणमा नआउने भएकाले मागलाई धानेको छ । मृत्युपछि हुने आँखाको नानी दानलाई संस्कारमा बदल्न आवश्यक ठान्छन्, आँखा बैंकका प्रबन्धक त्वायना ।

हाल दुर्ई हजारको संख्यामा बिरामी प्रत्यारोपणको पर्खाइमा छन् । विगतमा तीन वर्षसम्म कुरेर नानी प्रत्यारोपण गराउने समस्या अहिले समाधान भइसकेको छ । हाल एक हप्ताको पर्खाइमा नानी प्र्रत्यारोपण गर्न सक्ने अवस्था छ ।

नानी राखेपछि फलोअप गर्दैनन्

आँखाको नानी प्रत्यारोपण गरेपछि बिरामी चिकित्सकको परामर्शमा नआउने समस्या देखिएको छ । ‘नानी नपाउन्जेल ताकेता गर्छन्, तर पाएपछि कस्तो हुँदै छ जानकारी लिन र दिन आउँदैनन्,’ आँखा बैंकका प्रबन्धक त्वायनाले भने, ‘सबैलाई मिल्छ भन्ने छैन, त्यसैले समय–समयमा फलोअप आवश्यक पर्छ । कतिपय बिरामी बीचमा शरीरले स्वीकार नगरेपछि मात्रै आउने गरेका छन् ।’ तिलगंगा आँखा अस्पतालले दृष्टिविहीनलाई निःशुल्क नानी प्रत्यारोपण गर्दै आएको छ । 

नेपालीका आँखाको नानीले विदेशीलाई ज्योति

तिलगंगा आँखा प्रतिष्ठानले पछिल्लो समय संकलित नानी स्वदेशमा मात्रै नभई विदेशमा समेत निर्यात गर्न थालेको छ । नेपालमा संकलन भएका नानी विभिन्न देशमा एक सय ६८ जनालाई प्रत्यारोपण गरिएको छ । नेपालीको आँखाले विदेशीलाई ज्योति दिलाउनु गौरवको विषय भएको त्वायना बताउँछन् । हाल बंगलादेशका ७५, पाकिस्तानका आठ, भुटानका  १४, इन्डोनेसियाका  ६०  र कम्बोडियाका ११ जनाको आँखामा नेपालीको नानी प्रत्यारोपण गरिएको छ । सन् १९९४ को सेप्टेम्बर १६ मा प्रत्यारोपणकै लागि नेपाल आँखा बैंकको स्थापना भएको थियो । सन् १९९७ सम्म मानवीय सहयोगका रूपमा अमेरिकाको पहलमा नेपालमा नानी आयात गरिएको थियो । तर, हाल नेपाल आँखाको नानीमा आत्मनिर्भर बनेको त्वायना बताउँछन् । 

आँखा दान गर्न चाहने ८० हजार

तिलगंगा आँखा प्रतिष्ठानस्थित नेपाल आँखा बैंकले १५ हजारलाई दानबाट प्राप्त भएको नानी प्रत्यारोपण गरी पुनःदृष्टि प्रदान गरेको छ । आँखा बैंकका अनुसार मृत्युपछि आँखाको नानी दान गर्न चाहनेको संख्या ८० हजार पुगेको छ । तर, १५ हजारको हाराहारीमा मात्रै प्राप्त भएको छ । मृत्युपश्चात् निकालिएको आँखाको नानी नेपालमा दुई हप्तासम्म मात्रै राख्न सकिने आँखा बैंकका प्रबन्धक शंकर त्वायनाले बताए । उच्च प्रविधिले सुविधायुक्त देशले भने एक महिनासम्म राख्ने गरेका छन् । ‘प्र्रत्यारोपणको पर्खाइमा धेरै भएकाले यहाँ एक हप्ता पनि राख्नुपर्ने अवस्था छैन,’ त्वायना भन्छन् । 


स्याङ्जाका विदुर लामिछाने समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन सकाएका छन् । 
नेपालमा आँखाको नानी प्रत्यारोपण गर्न २४ चिकित्सक उत्पादन भइसकेका छन् । तर, हाल १८ जना मात्रै नेपालमा कार्यरत छन् । तिलगंगा आँखा अस्पतालबाहेक मेची आँखा अस्पताल र गेटा आँखा अस्पतालमा पनि नानी प्रत्यारोपण हुने गरेको छ । पशुपतिको आर्यघाट, विद्युतीय शवदाह गृह, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल र पाटन अस्पतालबाट आँखाको नानी संकलन  भइरहेको छ । मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलाली आँखा अस्पतालबाट पनि संकलन हुने गरेको छ ।

निःशुल्क प्रत्यारोपण

एउटा आँखाको नानी प्रत्यारोपणको तयारी अवस्थामा राख्न १९ हजार ६ सय खर्च हुन्छ । विशेष प्रकारको आँखाको नानीलाई प्रशोधन गरी एउटा आँखाको नानीबाट दुईजनालाई प्रत्यारोपण गर्न पनि सकिन्छ । यस्तो अवस्थामा प्रशोधन खर्च झन्डै ४५ हजार लाग्छ । तर, यो सबै खर्च तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा नबिल फाउन्डेसनले व्यहोर्दै आएको छ । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्