
इरानका जनरल कासिम सुलेमानीलाई हवाई आक्रमणमा मारेर अमेरिकाले संसारभरि हलचल मच्चाएको छ ।
आफ्नो देशको दोस्रो सबभन्दा शक्तिशाली व्यक्तिलाई अमेरिकाले हत्या गरिदिएपछि इरानले बदला लिने कसम खाएको छ । अनि प्रतिशोधका लागि उसले कारवाही पनि शुरू गरेको छ ।
इराकी भूमिमा सुलेमानी मारिएपछि इराकको संसद्ले विदेशी सैनिकहरूलाई इराकको भूमिबाट बाहिर निकाल्ने एक प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएपछि ट्रम्प भड्किएर इराकले त्यसो गरेमा उसमाथि कठोर प्रतिबन्ध लगाउने धम्की दिएका छन् ।
अमेरिकासँग निकट रहेको इराक सरकारले ट्रम्पको धम्कीका बावजूद सुलेमानीको हत्याको आलोचना गरेको छ । इराकी संसद्ले अमेरिकी सैनिकलाई निकाल्ने प्रस्ताव पारित गरेर इरानको सहायता गर्नका लागि हुंकार समेत गरेको छ । प्रस्तावमुताबिक इराकले अमेरिकी सैनिक हटाएमा इरानसँग युद्धको स्थितिमा रहेका ट्रम्पका लागि गम्भीर स्थिति उत्पन्न हुन्छ ।
इराकले आफ्नो जमीन र हवाई क्षेत्र दुवै अमेरिकाका लागि बन्द गर्ने निर्णय लिएमा ट्रम्प प्रशासनका लागि इरानमाथिको आक्रमण सहज हुने छैन । भौगोलिक दृष्टिले हेर्दा इरानको सीमासँग जोडिएका देश इराक, पाकिस्तान, टर्की र अफगानिस्तान हुन् ।
पाकिस्तानले समेत अमेरिकालाई चुनौती दिँदै कुनै पनि देशलाई युद्धका लागि आफ्नो भूमि उपयोग गर्न नदिने स्पष्ट पारेको छ । टर्कीले पनि कासिम सुलेमानीको हत्या सही नभएको बताएको छ ।
अचम्मको कुरा त इरान र इराकबीच शत्रुता रहेको चर्चा हुने गर्छ । तर सुलेमानीको मृत्युपछि दुवै देश एकमत भएका देखिन्छन् । सन् १९८० को दशकमा इरान र इराकले हिंस्रक युद्ध लडेका थिए । सन् २००३ मा पतन हुनुअघिसम्म इराकका राष्ट्रपति सद्दाम हुसैन जहिले पनि इरानविरुद्ध उभिए । त्यसपछि इराकमा इस्लामिक स्टेट जन्मिँदा त्यसविरुद्ध लड्नका लागि अमेरिकी सेना इराकमा बसिरह्यो । इराकमा अमेरिकाले भनेमुताबिकको सरकार बन्यो ।
तर यसबीचमा इरानले इराकमा प्रभाव बढाउँदै गयो । अहिले इराकबाट आईएस पूरै अन्त्य भएको छ । आईएसका प्रमुख अबु बकर अल बग्दादीलाई पनि अमेरिकाले मारेको छ । तर सुलेमानीको मृत्युपछि इराक अमेरिकासविरुद्ध उभिएको छ । अहिले पाँच हजारभन्दा बढी अमेरिकी सैनिक इराकमा छन् ।
इराकको यस दृष्टिकोणको एक ठूलो कारण प्रधानमन्त्री अब्दुल अल महदी पनि हुन् । इरान संसारकै एक मात्र शिया मुसलमानबहुल देश हुन् । इराकमा शिया र सुन्नी लगभग बराबर छन् तर त्यहाँ सुन्नी शासकहरूको राज छ । सद्दाम हुसैन आफैं सुन्नी मुसलमान थिए । बहालवाला प्रधानमन्त्री अब्दुल अल महदी शिया मुसलमान हुन् र इरानको इस्लामिक गणतन्त्र विचारधारालाई पनि उनी समर्थन गर्छन् । उनका पिता शिया धर्मगुरु थिए ।
सुलेमानीको हत्याको विरोध इराकमा समेत भएको छ शिया समुदायका लागि यो भावनात्मक विषय बनेको छ ।
त्यसैले होला शायद इराकको संसदमा यसको असर देखियो । प्रधानमन्त्री महदीले संसदमा सरकारसमक्ष दुईवटा विकल्प रहेको बताए । पहिलो, इराबाट विदेशी सैनिक हटाउने अनि दोस्रो, विदेशी सैनिकहरूलाई इराकी सेनाको तालिम दिनमा मात्र सीमित गर्ने । दुई विकल्प राख्दै महदीले भने, ‘प्रधानमन्त्री तथा सुरक्षाबलहरूको सर्वोच्च कमान्डर हुनुका नाताले म पहिलो विकल्प छान्न लगाउँछु ।’
तर इराकका लागि अमेरिकी सैनिक हटाउने काम सहज छैन । यो प्रस्ताव बाध्यकारी पनि छैन र अमेरिकी सैनिकको उपस्थितिलाई यसले कुनै असर पार्दैन । विदेशी सैनिकहरूलाई हटाउने हो भने इराकले नयाँ विधेयक ल्याउनुपर्नेछ र सम्झौता टुंग्याउनुपर्नेछ । विदेशी सैनिक हटाउने विकल्प कहिलेसम्म कार्यान्वयन होला भन्ने विषयमा धेरैको चासो छ ।
एजेन्सी