१२ असार २०८३, शुक्रबार

स्वास्थ्य शिविरमार्फत सेनाले गर्‍यो ३४ हजार बिरामीको उपचार

स्वास्थ्य शिविरमार्फत सेनाले गर्‍यो ३४ हजार बिरामीको उपचार

नेपाली सेनाले महोत्तरीका ३४ हजार नागरिकको निःशुल्क उपचार गरेको छ ।

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म निःशुल्क स्वास्थ्य शिविरमार्फत महोत्तरी र आसपासका जिल्लाका ३४ हजार १ सय ७२ जना स्थानीयको उपचार गरेको नेपाली सेनाले आइतवार पत्रकार सम्मेलनमार्फत जानाकारी दिएको छ ।

स्वास्थ्य शिविरमा ३ सय २९ जनाको मेजर, इन्टरमिडिएट र माइनर अपरेसन समेत गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी विज्ञानदेव शर्माले बताए ।

‘हामीले विकट, र विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य शिविर राखेका हौं, यसमार्फत ३४ हजारभन्दा माथि लाभान्वित भएका छन्,’ पत्रकार सम्मेलनमा साहयक रथी शर्माले भने ।

१ सय ८० विशेषज्ञ डाक्टर

महोत्तरीमा भएको स्वास्थ्य शिविरमा भेटिएका बिरामीको मेजर अपरेसनका लागि १ सय ८० जना विशेषज्ञ डाक्टर परिचालन गरेको नेपाली सेनाले जनाएको छ । १ सय १० जना अन्य डाक्टर पनि सहभागी भएको साहयक रथी शर्माले बताए ।

मुख्यरूपमा पेटको समस्या, डाइबिटिज र पाठेघरमा समस्या भएका बिरामीको उपचार गरिएको सेनाले जनाएको छ ।

स्वास्थ्य शिविरको पहिलो दिन महोत्तरीका सञ्जीव सदाको आन्द्रामा प्वाल परेको अपरेसन गरेको र एकजना महिलाको पाठेघरमा रहेको ५ किलो मासु (ट्यूमर) निकालेको सेनाले जनाएको छ ।

खर्च कति ?

३४ हजार बिरामीलाई उपचार गरेको नेपाली सेनाले खर्चको यकिन विवरण भने सार्वजनिक गरेन ।

स्वस्थ्य शिविरका लागि स्वास्थ्य मन्त्रालयबाट ७० लाख रुपैयाँ विनियोजन गरेको स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. विकास देवकोटाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै डा. देवकोटाले भने, ‘हामीले सेनालाई स्वास्थ्य शिविरका लागि ७० लाख रुपैयाँ सेनाको खातामा पठाएका छौं ।’

२ सय ९० जना डाक्टर परिचालिन हुँदा यति थोरै बजेटबाट कसरी सम्भव भयो भन्ने पत्रकारको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता शर्माले स्थानीय तहको पनि सहकार्य भएकाले कति खर्च भन्ने बताउन नसिकने बताए ।

salt training

कमेन्ट गर्नुहोस्