०५ साउन २०८३, मंगलबार

ऐतिहासिक सम्पदा पुनर्निर्माणमा संसदीय समितिको चासो, गुणस्तरीय ढंगले काम गर्न निर्देशन

ऐतिहासिक सम्पदा पुनर्निर्माणमा संसदीय समितिको चासो, गुणस्तरीय ढंगले काम गर्न निर्देशन

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पुनर्निर्माणको काम सन्तोषजनकरूपमा अघि बढेकोमा धन्यवाद दिँदै बाँकी काम निर्धारित समयसीमामा गुणस्तरीय ढंगले सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली समेतको उपस्थितिमा सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

‘पुनर्निर्माणको बाँकी कामलाई निर्धारित मापदण्ड, विधि र समयसीमाभित्र गुणस्तरीय ढंगले सम्पन्न गर्ने गरी अगाडि बढाउन निर्देशन दिइएको छ,’ समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले लोकान्तरसँग भनिन् ।

समितिले पुनर्निर्माणको सिलसिलामा प्राप्त भएर सम्बोधन गर्न बाँकी गुनासालाई विनाविलम्ब सम्बोधन गर्न पनि निर्देशन दिएको छ ।

धरहराको ३५ प्रतिशत काम सकियो, रानीपोखरी वैशाखभित्र

बैठकमा प्राधिकरणका सीईओ ज्ञवालीले ऐतिहासिक धरहरा पुनर्निर्माणको काम ३५ प्रतिशत सम्पन्न भएको जानकारी दिए । चौथो तल्ला ढलान गरिसकिएको उनको भनाइ थियो । 

रानीपोखरीको पुनर्निर्माण पनि तीव्र गतिमा अघि बढेको जानकारी गराउँदै ज्ञवालीले आगामी वैशाख १२ गते उद्घाटन गर्ने गरी काम भइरहेको बताए ।

ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरातात्विक महत्त्वका सामग्रीको संरक्षणमा विशेष ध्यान दिइएको उनको भनाइ थियो ।

बैठकमा समिति सभापति रावलले नेपाल भ्रमण वर्ष २०२० लाई पुनर्निर्माणको बाँकी कामले पार्न सक्ने प्रभावबारे जिज्ञासा राखेकी थिइन् ।

जवाफमा सीईओ ज्ञवालीले पुनर्निर्माणमा भइरहेको प्रगति देखेर पर्यटकहरू पनि खुशी भएको बताए । कतिपय पर्यटक त पुनर्निर्माण हेर्नका लागि नै ती सम्पदाहरूमा पुग्ने गरेको उनको भनाइ थियो ।

बैठकमा सांसदहरूले पुनर्निर्माणका क्रममा नागरिकबाट आएका गुनासो सम्बोधन हुन बाँकी रहेकोबारे जिज्ञासा राखेका थिए ।

सीईओ ज्ञवालीले गुनासा सम्बोधन भइरहेको जानकारी दिँदै स्थानीय तहहरूसँग पनि राम्रो सहकार्य भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्