
पाल्पामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन् ।
ट्राफिक नियम नियम विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको देखिएको छ ।
चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन् । चालकले मदिरा सेवन गरी सवारीसाधन चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । यही पुस १३ देखि १९ गतेसम्म सञ्चालित कार्यक्रममा ३८९ सवारी कारवाहीमा परेका छन् ।
सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालित अवधिमा १३ सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् । १९ सवारीसाधनमा दुर्घटनाबाट क्षति भएको छ ।
प्रहरीले मोटरसाइकल र स्कुटी ५८, जीप, कार र भ्यान ७३, बस, टिप्पर र ट्रक २०२, ट्रयाक्टर ५६ जाँचका क्रममा चालकले नियम पालना नगरेको देखिएको थियो ।
चालक, सहचालक, यात्रु तथा पैदलयात्रीले पालना गर्नुपर्ने नियम र कर्तव्यसम्बन्धी १० हजार ७०० लाई सचेत बनाउने काम गरिएको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्प्लेटसमेत वितरण गरिएको छ ।
करीब ७६७ सवारीमा ट्राफिक सचेतनामूलक स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले बताए ।
चालू आर्थिक वर्षको ५ महिनामा मात्र करीब ५० लाख रुपैयाँ राजस्व संकलन भएको काफ्लेले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले दुर्घटना कारण अकालमा ज्यान गुमाउनुपर्ने हुँदा दुर्घटना न्यूनीकरणसम्बन्धी अभियान नै सञ्चालन गरिएको बताए ।
उनले सवारीसाधन चालक, सहचालक, यात्रु तथा सवारी मालिकलाई समेत दुर्घटना न्यूनीकरणका लागि सचेत गर्ने काम भएको बताए ।
चालू आवमा ६ महिनाको अवधिमा जिल्लामा १५ को सवारी दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । जिल्लाका मुख्य तथा सहायक सडकमा साना तथा ठूला १३० दुर्घटना भएका छन् । दुर्घटनाबाट ७१ गम्भीर घाइते अवस्थामा छन् । सामान्य घाइतेको अवस्था झण्डै १८१ छ ।